arrow

बडादशैँको मध्यरातबाट शुरु भएको 'खड्ग जात्रा' र 'सेतो घोडा जात्रा' सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
taleju-mandir.jpg

भक्तपुर। बडा दशैँको दिन मध्यरातबाट भक्तपुरमा शुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रा सँगै तलेजु भवानीको बाहन सेता घोडा जात्रा आज बिहान सम्पन्न भएको छ। ऐतिहासिक तथा सांस्कृतिक महत्त्वको यो जात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा मनाइने परम्परा छ।

बडा दशैँको मध्यराति तलेजु आगम घर (मन्दिर) को खँ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलि पात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पायःद्यो लाई तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए।

एकादशीको दिन बिहानसम्म चलेको पायःद्यो जात्राका क्रममा तलेजु भवानीको साक्षात् रुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिऱ्याई जात्रा मनाइने परम्परा रहेको संस्कृतविद् प्रकाश कायस्थले बताए। खड्ग जात्राका क्रममा राजोपाध्यायले पायःद्योलाई आफ्नो काँधमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि पूजा र दर्शन गर्न दिइने परम्परा छ।

विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण राति ब्रह्मायणीबाट भक्तपुरको विभिन्न टोल घुमेर दरबारस्क्वायर आएका थिए। बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको जोशीले जानकारी दिए।

उनका अनुसार तलेजुलाई दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) ल्याएपछि पङ्क्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो तलेजुद्वारा मन्त्रसिद्धि प्रदान गर्ने र मन्त्रसिद्धि प्राप्तिपछि पायःद्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने प्रचलन रहेको छ।

चन्द्रमासको तिथि र गतिका आधारमा यस वर्ष नगरको माथिल्लो क्षेत्र दरबार स्क्वायरस्थित गोल्डेन गेटबाट बालाखु गणेश, भोलाछेँ, दत्तात्रय, सुकुलढोका, क्वाछें, तौमढी हुँदै दरबारस्क्वायरस्थित जगन्नाथ (पशुपति) मन्दिरको परिक्रमा गरी ढोग गरेर तलेजुको देवगृहमा प्रवेश गराई जात्रा बिहानी पख सम्पन्न गरिएको जोशीले जानकारी दिए। उनले बडादशैँको मध्यरातमा हुने ऐतिहासिक एवं धार्मिक सांस्कृतिक महत्त्वको यो जात्रालाई खड्ग जात्रा भनेर चिनिने गरिएको पनि बताए।

विजयादशमीको राति तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न भएपछि सेतो घोडा जात्रा शुरु हुने परम्परा रहेको छ। जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेँडा बलि चढाएपछि तलेजुको मूलचोकबाट बाहिर ल्याई भक्तपुर नगरमा डुलाएर घोडा जात्रा गर्ने गरिएको छ। जात्राको क्रममा ब्रह्मायणी र तलेजुलाई नगरको विभिन्न क्षेत्रमा परिक्रमा गराउँदा तलेजुको बाहन सेतो घोडालाई पनि पछि परिक्रमा गराएर जात्रा मनाइएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ