arrow

मल्लकालीन युद्धकला झल्काउने 'खाँ पिहाँवईगु' जात्रा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १८ शनिबार
thimi-festival-2081-(22).jpg

काठमाडौँ। बडादशैँको ११औँ दिन पापाङ्कुशा एकादशी को अवसरमा शुक्रबार मध्यपुर थिमिमा मल्लकालीन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा सम्पन्न भएको छ।

यो जात्रा तत्कालीन राजदरबारको रूपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट निकालिएको थियो। जात्रामा गुठीयारहरूले जामा लगाएर खड्ग, तरबार, ढाल, युद्धकवजलगायत मल्लकालीन युद्धमा प्रयोग हुने साधन बोकेर युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गरेका थिए।

जात्रामा दशैँको महानवमीमा तलेजु भवानीलाई बलि चढाएको खःम्ये (राँगा) को टाउको र रगत भरिएको घ्याम्पा (हिकोँचा) लाई समेत नगर परिक्रमा गराइएको थियो। थिमि लाय्कुका पमा नायो श्यामकाजी श्रेष्ठका अनुसार, यो जात्रा थहनेया टोल (माथिल्लो टोल) र कोहनेया टोल (तल्लो टोल) मा प्रदर्शन गरिएको थियो।

जात्राको अन्तिममा स्थानीय क्वालखु द्यः (बालकुमारी देवी) को परिसरमा भुइँफर्सीअर्थात् कुभिण्डो मार हानेपछि जात्रा सम्पन्न भएको थियो। मार हान्ने यो कार्यका कारण यसलाई ‘भुइँफर्सी पालेगु जात्रा’ पनि भनिन्छ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बलि दिइएको भुइँफर्सी प्रसादको रूपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको जानकारी दिनुभयो। सोही विश्वासका कारण मार हानेको भुइँफर्सी लिन स्थानीयको तँछाडमछाड हुने गर्दछ।

यो जात्रामा नायो पमां (तत्कालीन दरबारका प्रमुख प्रशासक), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ। जात्रा सम्पन्न भएपछि खड्गी समुदायले बोकेर प्रदर्शन गरिएको हिकोँचा पूजा गरेर भेँडा बलि दिएर भोज खाने परम्परा रहेको छ।

मल्लकालीन समयमा लाय्कु दरबार (हालको आदर्श मावि) थिमि राज्यको प्रमुख प्रशासकीय केन्द्र थियो र यसको धार्मिक तथा सांस्कृतिक जात्रा पर्वमा लाय्कु प्रमुख (नायो पमाः) को उपस्थिति अनिवार्य मानिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ