arrow

बडादशैँका आठ दिनमा उपत्यका छाड्ने पाँच लाख ५३ हजारभन्दा बढी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
gangagu-buspark-82-6-9rrr.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनादेखि अष्टमीसम्म आठ दिनमा पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यही असोज ६ गते घटस्थापना शुरू भएको दिनदेखि अष्टमीको साँझ बुधबारसम्म पाँच लाख ५३ हजार २६१ जना यात्रु विभिन्न नाकाबाट काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । बुधबारको पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार २८४ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौँ बाहिरिने यात्रुको चाप बढेसँगै यात्रुको सुविधाका लागि विभिन्न  नाका र पार्किङस्थलहरूमा थप ट्राफिक प्रहरी परिचालन गरिएको बताए । 

उनले भने, “यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्ष, अनुगमन टोली र आपत्कालीन उद्धार टोली पनि सक्रिय छन् । ट्राफिक प्रहरी २४ घण्टा सडकमा खटिएको छ ।” 

चाडपर्वका समयमा तथा विषेशगरी लामो दूरीका सवारी चालकलाई मादकपदार्थ सेवन नगर्न, निर्धारित गतिमा सवारीसाधन चलाउन र सवारीसाधनको प्राविधिक अवस्था जाँच गर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा मात्र १७ हजार दुई सवारीसाधन उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बुधबार जानकारी दिए ।

घटस्थापनादेखि काठमाडौँ उपत्यकाबाट बाहिरिएका सवारीसाधनको सङ्ख्या एक लाख ८९ पुगेको छ । यिनै सवारी साधनमार्फत यात्रामा निस्किनेको मुख्य गन्तव्य भने देशका पूर्वी, पश्चिमी र सुदूरपश्चिम प्रदेशका जिल्ला रहेका छन् । 

यस्तै काठमाडौँ उपत्यकामा ७२ हजार ४१ सवारीसाधनबाट दुई लाख ८५ हजार ३०८ जना आजसम्म भित्रिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विशेषगरी कोटेश्वर, कलङ्की, बल्खु, नयाँबसपार्क, जगतीलगायत नाकामा यात्रुको भीड देखिन्थ्यो ।  

राजधानीबाट बाहिरिने यात्रुहरूको मुख्य माध्यम सार्वजनिक सवारी भए पनि निजी सवारीसाधन र पर्यटक बसको प्रयोग गर्नेहरूको सङ्ख्या उल्लेख्य रहेको छ । दसैँ नजिकिएसँगै गाउँमा पारिवारिक भेटघाट, दुर्गा पूजाको तयारी र टीका ग्रहणको वातावरण चुलिँदै गएको छ । 

काठमाडौँमा भने सवारी चाप घटेपछि सडक तुलनात्मक रूपमा फुर्सदिला देखिन थालेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ