arrow

नवरात्रको अन्तिम दिन: आज सिद्धिदात्री देवीको पूजाआराधना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १५ बुधबार
siddhidatri-devi.jpg

काठमाडौँ। आज आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। प्रत्येक वर्ष महानवमीका दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ।

मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ। यिनी नवदुर्गा गणकी अन्तिम देवी मानिएकी छिन्। धार्मिक विश्वास अनुसार, सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने विश्वास छ। विभिन्न पुराणमा उल्लेख भएअनुसार दुर्गा देवीका नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउँछन्।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यस वर्षको नवरात्र असोज ६ गते सोमबार घटस्थापना गरेर सुरु भएको थियो, जसमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरी देवीको पूजाआराधना गरियो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईका अनुसार, यस वर्ष चौथी तिथि वृद्धि भएर दुवै दिन (असोज ९ र १०) कुष्माण्डा देवीको पूजाआराधना गरिएको थियो। उनले नवरात्रको अन्तिम दिन आज आश्विन शुक्ल नवमीमा सिद्धिदात्री देवीको विशेष पूजा आराधना गर्नुपर्ने बताए।

नवरात्रका नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यस वर्ष असोज १६ गते बिहीबार विजयादशमी परेको छ। टीकाको साइत खोज्नेका लागि समितिले बिहान ११ः५३ को साइत उत्तम रहेको जनाएको छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्।

दशैँको नवौँ दिन महानवमी नवरात्रको अन्तिम दिन भएकाले आज शक्तिपीठहरूमा पूजाआराधना गर्ने भक्तजनको अत्यधिक भीड लाग्छ। शक्तिपीठसहित घरघरमा पनि बली सहित पूजाआराधना गरी नेपालीले आजको दिनलाई विशेष रूपमा मनाउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ