कांग्रेसले गर्यो कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम स्थगित
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
877
Shares
काठमाडौं। नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमा को अवसरमा आयोजना गर्दै आएको आफ्नो परम्परागत चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम नगर्ने भएको छ। कांग्रेसले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको घटनाक्रमले मुलुकलाई गहिरो शोकमा डुबाएको भन्दै यो वर्षको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जानकारी गराएको छ।
विज्ञप्तिमा आन्दोलनका क्रममा भएको व्यापक क्षति र हिंसालाई कार्यक्रम स्थगित गर्नुको मुख्य कारणको रूपमा औँल्याइएको छ। आन्दोलनका क्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुका साथै धेरै महत्त्वपूर्ण संरचनाहरूमा क्षति पुगेको उल्लेख छ।
आक्रमण र लुटपाट भएका संरचनाहरूमा राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, संसद् भवन, सर्वोच्च अदालत, प्रहरी कार्यालयहरू, पार्टीका ऐतिहासिक भवनहरू र व्यावसायिक प्रतिष्ठानहरू समावेश छन्। यसका साथै, पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवा सहित अन्य नेताहरूमाथि समेत सांघातिक आक्रमण भएको विज्ञप्तिमा जनाइएको छ।
वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइरालाले निर्वासनबाट फर्किएपछि ल्याएको ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ को नीतिपश्चात् कांग्रेसले निरन्तर रूपमा यो चियापान कार्यक्रम गर्दै आएको थियो, जुन यस वर्षको घटनाका कारण स्थगित भएको हो।