दशैँका लागि हिमालबाट च्याङ्ग्रा बजार झार्ने क्रम तीव्र, मूल्य प्रति च्याङ्ग्रा ५० हजारसम्म
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
893
Shares
ढोरपाटन (बागलुङ)। दशैँ नजिकिएसँगै हिमाली क्षेत्रका किसान तथा व्यापारीहरूले मुस्ताङ र डोल्पाका उच्च भेगबाट च्याङ्ग्रालाई धमाधम बजार झार्न थालेका छन्। करिब दस दिन अगाडिबाटै सुरु भएको यो प्रक्रियामा च्याङ्ग्राका बथानहरू म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याइँदै छन्।
हिमाली क्षेत्रमा हुर्किएका च्याङ्ग्रा स्वादिष्ट हुनुका साथै जडीबुटीयुक्त घाँस खाने हुँदा औषधीय गुण का कारण धेरैको रोजाइमा पर्ने गरेका छन्।
मुस्ताङका च्याङ्ग्रापालक किसान नामदेव गुरुङका अनुसार, पोखरा र काठमाडौँका व्यापारीहरू भदौ महिनामै गोठमा पुगेर च्याङ्ग्रा खरिद गर्ने गर्छन्, जसले गर्दा किसानले सस्तो मूल्यमा बेच्ने गरेका छन्। यद्यपि, व्यापारीले ट्रकमार्फत ढुवानी गर्दा लाग्ने भाडा र अन्य खर्चका कारण च्याङ्ग्राको मूल्य बजारमा पुग्दा महँगो हुने गरेको उनी बताउँछन्।
डोल्पाबाट १७ दिनको यात्रा गरेर बागलुङ आइपुगेका किसान थमसिंह बुढा ले च्याङ्ग्रा व्यापार आफ्नो मुख्य आम्दानीको स्रोत भएको बताएका छन्। उनले भने, "जति टाढा पुर्याइन्छ, च्याङ्ग्राको मूल्य बढ्नु स्वाभाविक हो।" उनले ८ वर्षअघि रु १२ हजारमा बिक्री गर्न सुरु गरेको च्याङ्ग्राको मूल्य अहिले बजारमा पुग्दा करिब रु ५० हजारसम्म पुगेको जानकारी दिए।
नामदेव गुरुङले ३०० च्याङ्ग्रा लिएर हिँडेकोमा बागलुङको मालढुङ्गा आइपुग्दा ७० वटा बिक्री भएको सुनाए।
हिमाली क्षेत्रमा हिउँ चितुवा र ब्वाँसोबाट च्याङ्ग्रालाई जोगाउन मुस्किल हुने गरेको किसानहरूको भनाइ छ। यद्यपि, दशैँको सिजनमा हुने ठूलो बिक्रीले राम्रो आम्दानी गर्न सकिने व्यापारी बताउँछन्।
मुस्ताङसहित डोल्पा, मुगु र जुम्लाबाट च्याङ्ग्रा मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्ग बाट देशका ठूला सहरमा भित्रिने गरेका छन्। यसबाहेक, तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिने गरेका छन्।
मुस्ताङ र डोल्पाका च्याङ्ग्रासँगै बागलुङको तमानखोला, ढोरपाटन र निसीखोलाका किसानहरूले पनि भेडा बिक्रीका लागि बुर्तिबाङ, खर्बाङ हुँदै बुटवलसम्म झार्ने गरेका छन्।