मन्त्री घिसिङद्वारा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
950
Shares
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले मुग्लिङ–नारायणगढ सडकखण्डको तुइन खोलामा धेरै ठूलो सुक्खा पहिरो खसेका कारण सडक सञ्चालनमा अवरोध आएको बताएका छन्। उनले पहिरो हटाउन आवश्यकभन्दा बढी उपकरण परिचालन गरिएको जानकारी दिएका छन्।
पटकपटक पहिरो पन्छाएर सडक खुलाइएको भएपनि फेरि अझ ठूलो सुक्खा पहिरो खस्दा समस्या भएको मन्त्री घिसिङले बताए। पहिरो खसिरहने जोखिम र रातको समयमा काम गर्न जोखिमपूर्ण भएकाले अवरोध भएको छ। यद्यपि, आजदेखि पानी नपरेमा राति पनि काम गरी भोलि बिहानसम्ममा सडकलाई निर्बाध रूपमा सुचारु गरिने योजना रहेको उनले बताए।
मन्त्री घिसिङले तुइन खोलाको पहिरोले सम्पूर्ण यातायात अवरुद्ध नगरेको भन्दै अन्य वैकल्पिक मार्गहरू सञ्चालनमा रहेको जानकारी दिएका छन्। कान्तिपथ र त्रिभुवन राजमार्ग सुधार गरी सञ्चालनमा ल्याइएको छ भने बीपी राजमार्ग र कोदारी राजमार्ग निर्वाध रूपमा सञ्चालनमा रहेका छन्। उनले पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडकखण्ड पनि दुईतर्फी सञ्चालनमा रहेको बताए। साथै, एक-डेढ महिनादेखि सीमा नाकामा रोकिएका धेरै मालबाहक कन्टेनरहरू अहिले सहज रूपमा सञ्चालन भइरहेको पनि उनले जानकारी दिए। सरकारले मुग्लिङ-नारायणगढ सडकखण्डको समस्यालाई उच्च प्राथमिकतामा राखेर समाधान गर्ने तयारी अघि बढाएको उनको भनाइ छ।