तोकिएकै समयमा निर्वाचन गराउन सरकारलाई माओवादी केन्द्रको दबाब
पार्टीका तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
898
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले निर्धारित समयमै निर्वाचन गराउन अन्तरिम सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीको बुधबार बसेको स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो।
माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, बैठकले तोकिएकै समयमा निर्वाचन गराउन सरकारलाई दबाब दिने र पार्टीका तर्फबाट आवश्यक भूमिका खेल्ने निर्णय गरेको छ।
यसका साथै, बैठकले जेन-जी आन्दोलन लगायत लोकतन्त्र र परिवर्तनका पक्षधरसँग वार्ता र संवाद गरी समझदारी कायम गर्ने, समाजवादी मोर्चा र अन्य राजनीतिक कार्यदिशा मिल्ने पार्टीहरूसँग एकताका लागि पहल गर्ने, र देशभक्त तथा परिवर्तनकारी सबै पार्टी तथा सामाजिक संघसंस्थालाई समेटेर बृहत् संयुक्त मोर्चा निर्माण गर्ने निर्णय पनि गरेको छ।
प्रवक्ता सापकोटाले स्थायी कमिटीको बैठकले विशेष महाधिवेशनमा जाने निर्णय गरेको र बिहीबार बस्ने केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको मिति तय गर्ने जानकारी दिए।