वन्यजन्तु संरक्षणमा निजी क्षेत्र र स्थानीय तहको लगानीका लागि कानुनी व्यवस्था हुँदै [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ७ मंगलबार
1k
Shares
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले वन्यजन्तु र वनस्पति संरक्षणमा निजी क्षेत्र र स्थानीय तहलाई लगानी गर्नसक्ने गरी कानुनी व्यवस्था मिलाउने तयारी गरिरहेको छ। राष्ट्रिय संरक्षण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले यस्तो जानकारी दिएका हुन्।
सचिव मिश्रले वन ऐन तथा नियमावली संशोधनमार्फत निजी क्षेत्र र स्थानीय तहलाई चिडियाखाना र वनस्पति उद्यान स्थापना गर्ने अधिकार दिन कानुनी प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारेका छन्। उनले सामुदायिक वन र वन्यजन्तु संरक्षणका लागि अगाडि बढ्न चाहने समुदायलाई रोक्नुको सट्टा आवश्यक कार्यविधि बनाएर बाटो खोलिदिनुपर्नेमा जोड दिए। मिश्रले भने, "यदि दुई-तीन स्थानीय तह मिलेर संरक्षण क्षेत्र बनाउन खोजिरहेका छन् भने हामीले उनीहरूलाई किन रोक्ने? कार्यविधि बनाएर बाटो खोलिदिने हो भने उनीहरूले हाम्रो भन्दा राम्रो संरक्षण क्षेत्र बनाउनेछन्।"
यसैबीच, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले स्रोत र जनशक्तिको अभावका कारण वन र वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै गएको बताए। उनले संरक्षणका लागि सरकारी बजेट मात्र पर्याप्त नहुने धारणा राखेका छन्। साथै, देशका विभिन्न ठाउँमा वन्यजन्तुका घटना हुँदा तत्काल उद्धार र राहत उपलब्ध गराउन गाह्रो भएकाले नागरिकमा विभागप्रति नकारात्मक धारणा बढेकोप्रति पनि उनले चिन्ता व्यक्त गरे।
आज देशभर राष्ट्रिय संरक्षण दिवस मनाइएको छ। सन् २०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वनमन्त्री गोपाल राई, विज्ञहरू डा. हर्क गुरुङ, डा. चन्द्र गुरुङ लगायत २४ जनाको निधन भएको थियो। उनीहरूको योगदानको स्मरण गर्दै सोही दिनलाई राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउन थालिएको हो।