कांग्रेसलाई पुनर्जीवन दिन तत्काल विशेष महाधिवेशन बोलाउन माग
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३ शुक्रबार
5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसलाई पुनर्जीवन दिनका लािग पुनर्गठन गर्नुपर्ने भन्दै परिवर्तनका लागि तत्काल विशेष महाधिवेशनको मिति तय गर्न माग गरिएको छ ।
काठमाडौँमा भएको महाधिवेशन प्रतिनिधिहरुको भेलाले दशैँ अगाडि नै मौजुदा व्यवस्था बमोजिम केन्द्रीय समिति बैठक डाकेर विशेष महाधिवेशनको समय तय गर्न पनि आग्रह गरेको छ ।
विशेष महाधिवेशनबाट नेतृत्व, संरचना, पार्टीको विचार र पार्टीका नीतिहरु समय सापेक्ष पुनव्र्याख्या गरी पुनर्संशोधन गरी नेतृत्व बदल्न पनि माग गरिएको छ ।
यदि त्यसो नगरी विशेष महाधिवेशनलाई टारेर जान खोजियो भने वैधानिक बाटोबाट देशभरका महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर पनि विशेष महाधिवेशन बोलाउन सकिने बताइएको छ ।
नेता गुरुराज घिमिरे र नारायणप्रसाद भट्टराईको संयोजकत्वमा भएको कार्यक्रममा सातै प्रदेशका महासमिति सदस्यहरुको सहभागिता रहेको संयोजक भट्टराईले बताए ।
दशैँ अगाडि नै पार्टीले मिति तोकेर विशेष महाधिवेशनको मिति तोक्ने काम गर्न पनि भेलाले माग गरेको छ ।
‘पुनर्जीवनका लागि पुनर्गठन, परिवर्तनका लागि विशेष महाधिवेशन’ नाम दिएर आयोजना गरिएको उक्त भेलामा केन्द्रीय सदस्यहरू अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, गुरुराज घिमिरे, देवराज चालिसे, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईँसहित ५० जना भन्दा बढीले विचार राखेका थिए ।
दुई सय भन्दा बढीको भेलामा विचार राख्नेमा कुमार लुइँटेल, रामपल्टन साह, पुष्पराज शर्मा, रेखा यादव, हुर्मत न्यौपाने, रीता शाही, अमिता प्रधान, विनोद खनाल, टेकराज पौडेल, रुद्र कन्दङ्वा, विमल संग्रौला, ऋषि थपलियालगायत रहेका थिए ।
अपाङ्ग संघका अध्यक्ष चम्लागाईं तल्लो तहदेखि नै परिवर्तन खोजिएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको बताए । उनले जेन–जी आन्दोलनपछि समय सापेक्ष भएर कांग्रेस हिँड्नु पर्ने पनि बताए ।
कार्यक्रममा वक्ताहरुले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेर चुनावमा नजाने हो भने कांग्रेसको उपस्थिति कमजोर हुने भन्दै तत्काल यसबारेमा कांग्रेस नेतृत्व गम्भीर बन्नुपर्ने बताए ।
विषम राजनीतिक परिवेशमा कांग्रेस पुनगर्ठनका लागि नियमित महाधिवेशन गर्ने समय पनि नभएकाले विशेष महाधिवेशन गरेर ताजा जनादेश लिएरमात्र फागुन २१ गतेको निर्वाचनमा जानुपर्नेमा जोड दिइयो ।