arrow

जोड पुनर्जीवनको

विशेष महाधिवेशन गरी पार्टी पुनर्गठन गर्न कांग्रेसलाई काठमाडौँ महानगर समितिको माग

आफ्ना माग राख्दा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमन, हत्या र बल प्रयोगको जिम्मा सत्तामा सहभागी भएका नाताले कांग्रेसले पनि लिन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
nepali-congress-flag.jpg

काठमाडौँ । देशको राजनीतिक लय परिवर्तनसँगै नेपाली कांग्रेसलाई पुनर्जीवन गर्न माग बढेको छ । विषम परिस्थितिमा कांग्रेसलाई समय सापेक्ष बनाउन विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरी पार्टी पुनर्जीवन गर्नुपर्ने माग बढेको हो । 

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले पनि सो माग गरेको हो । विज्ञप्ति जारी गर्दै समितिले आजको यो विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई समयसापेक्ष बनाउन, युवा पुस्ताको भावनाको सम्बोधन गरी आगामी दिनमा अग्रणी पार्टीका रुपमा स्थापित गर्न तत्काल विशेष महाधिवेशन मार्फत पार्टीमा नयाँ नेतृत्व चयन गरी पार्टीको पुनर्जीवनका लागि पार्टी पुनर्गठन गर्न जोडदार माग गरेको हो । 

समितिले भदौ २३ र २४ गते देशमा भ्रष्टाचार, बेथिति, अभिव्यक्ति स्वतन्त्रतामाथिको नियन्त्रणविरुद्ध भएको जेन–जी आन्दोलनमा प्रहरी दमनमा परी ज्यान गुमाउने सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदनसमेत प्रकट गरेको छ । आन्दोलनका घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

समितिले आफ्ना माग राख्दा केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको दमन, हत्या र बल प्रयोगको जिम्मा सत्तामा सहभागी भएका नाताले कांग्रेसले पनि लिन आग्रह गरेको छ । 

भदौ २४ गते भएको सरकारी, सार्वजनिक र निजी भवन, घर, उद्योग र सम्पत्तिमाथिको तोडफोड, आगजनी र लुटपाटको छानबिन गरी संलग्नलाई कारबाही गर्न र तत्काल पुनर्निर्माण थाल्न पनि आग्रह गरेको छ । 

यसअघि राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले संस्थागत निर्णय गर्दै पार्टीलाई विशेष महाधिवेशन गरेर पुस्तान्तरण गरी अगाडि बढ्न सुझाव दिएको थियो । माधवप्रसाद चम्लागाईं नेतृत्व संघ कांग्रेस नेतृत्वलाई यो माग गर्ने पहिलो भ्रातृ संगठन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ