बागलुङ। बागलुङमा किसानलाई दूधको उत्पादनका आधारमा दिइने अनुदान कार्यक्रम निकै प्रभावकारी देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका आठवटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले प्रतिलिटर ५ रुपैयाँका दरले ३७ लाख ३२ हजार रुपैयाँ अनुदान प्राप्त गरेका छन्। यसबाट करिब ८०० किसान लाभान्वित भएका छन्।
भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाका अनुसार, यो अनुदान कार्यक्रम सफल र प्रभावकारी रहेको छ। अनुदान पाउनका लागि किसानले सहकारीमार्फत दैनिक कम्तीमा २०० लिटर दूधको कारोबार गरेको प्रमाण पेस गर्नुपर्छ। सीधा बजारमा दूध बेच्ने किसानले भने यो सुविधा पाउँदैनन्।
सापकोटाले भने, “उत्पादनका आधारमा अनुदान निकै प्रभावकारी कार्यक्रम हो। किसानले जति धेरै उत्पादन गर्छन्, उति नै बढी अनुदान पाउँछन्।” चालु आर्थिक वर्षमा पनि किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन ३८ लाख रुपैयाँ बजेट छुट्याइएको छ।
आव २०७८/७९ मा ४ लाख २० हजार लिटर दूधमा अनुदान वितरण गरिएको थियो भने गत आवमा ७ लाख ४६ हजार ५५४ लिटर दूधमा अनुदान दिइएको थियो। विज्ञ केन्द्रले १० लाख लिटरसम्म दूधमा अनुदान दिन सक्ने जनाएको छ। बागलुङ बजारमा १५ सहकारीले दूध संकलन गरे पनि मापदण्ड पुगेका ८ सहकारीका किसानले मात्र यो अनुदान पाएका हुन्।