काठमाडौँ। नेपाल पत्रकार महासङ्घका पूर्वपदाधिकारी र नागरिक समाजका अगुवाहरूले जेन-जी पुस्ताले गरेको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको कडा शब्दमा विरोध गरेका छन्।
सोमबारको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएको खबरले आफूहरू स्तब्ध र मर्माहत भएको उनीहरूले एक अपिलमार्फत जनाएका छन्। अपिलमा भनिएको छ, “मुलुकमा बढेको भ्रष्टाचार, कुशासन र बेथिति अन्त्य गर्न तथा सामाजिक सञ्जाल फुकुवाको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा रहेका युवा विद्यार्थीमाथि संसद भवन अगाडि गरिएको निर्मम गोलीकाण्डको हामी निन्दा गर्दछौँ।”
उच्चस्तरीय छानबिन: घटनाको सत्यतथ्य पत्ता लगाउन सर्वाधिकारसम्पन्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने।
दोषीमाथि कारबाही: घटनामा संलग्न केन्द्रीयदेखि जिल्ला तहसम्मका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, तथा असंवैधानिक आदेश कार्यान्वयनमा संलग्न सञ्चार मन्त्रालयका सचिव र दूरसञ्चार प्राधिकरणका अधिकारीहरूलाई तत्काल निलम्बन गरी छानबिनको दायरामा ल्याउनुपर्ने।
मृतकलाई न्याय: मृतक परिवारलाई सत्य, न्याय र परिपूरणको सुनिश्चितताका साथै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने।
सुशासनको प्रत्याभूति: आन्दोलनको मूल मुद्दा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सरकारले ठोस कदम चाल्नुपर्ने।
पत्रकारको सुरक्षा: घाइते पत्रकारको उपचार र निर्वाध रूपमा समाचार सङ्कलन तथा सम्प्रेषण गर्न पाउने वातावरणको सुनिश्चितता गर्नुपर्ने।
अन्तमा, उनीहरूले जेन-जी पुस्ताका युवाहरूलाई प्रदर्शनमा कुनै पनि घुसपैठ हुन नदिन, संयम अपनाउन र शान्तिपूर्ण तरिकाले आफ्नो आवाज बुलन्द गर्न आह्वान गरेका छन्।
यसरी अपिल गर्नेहरूमा महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल र गोविन्द आचार्य, उपसभापतिहरू रमेश विष्ट र खिलबहादुर भण्डारी, रिपोर्टर्स क्लबका ऋषि धमला र वरिष्ठ पत्रकार राजन कुइँकेल लगायत रहेका छन्।