दोस्रो चरणमा कडा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
754
Shares
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने मागसहित नेपाल शिक्षक महासंघले विभिन्न राजनीतिक दलको पार्टी कार्यालयमा धर्ना दिने कार्यक्रम सकेका छन् ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम भएको हो ।
अध्यक्ष सुवेदीले आन्दोलनअन्तर्गत पहिलो चरणको कार्यक्रम अन्तिम चरणमा रहेको जानकारी दिए ।
अध्यक्ष सुवेदीले शिक्षा विधेयकमा महासंघका माग सम्बोधन नभए दोस्रो चरणका कार्यक्रमको सार्वजनिक गरी कडा आन्दोलन चेतावनी दिए ।
‘आज धर्नाको कार्यक्रम अन्त्य हुन्छ । भोलि (शुक्रबार) हामी बैठक बस्दैछौँ । बैठकपछि दोस्रो चरणका कार्यक्रमको सार्वजनिक गछौँ । विस्तारै आन्दोलनले गति समात्दैछ । हिजो ०८१/०८२ मा भएको भन्दा कडा आन्दोलन हामी गर्छौँ’, उनले भने ।
उनले धर्नामार्फत राजनीतिक दलका नेताहरुलाई प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट शिक्षकको समस्याको समाधान गरिदिन ध्यानाकर्षण पत्र बुझाएको बताए ।
उनले भने, ‘हाम्रो मूल मुद्दा प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट समाधान गरिदिनुपर्छ भन्नलाई आएका हौँ । ध्यानाकर्षणपत्र पनि पेश गरेका छौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभाले कुन ढङ्गले काम गर्छ त्यो अनुसार हाम्रो आन्दोलनको रुप अगाडि आउँछ । यदि ऐन जारी हुने दिशातिर गयो भने अबको लडाई संशोधनको हुन्छ ।’