काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी विधेयक अघि बढाउन सरकारले अनिच्छा देखाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले यस विषयमा तत्काल पहल गर्न समितिकी सभापतिलाई आग्रह गरेका छन्।
नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले विधेयकलाई समितिमा अड्काएर राख्न नहुने बताए। उनले विधेयकमा सरकारको कुनै खास धारणा भए बैठकमा प्रस्तुत गर्न आग्रह गर्दै समितिलाई प्रधानमन्त्री र सम्बन्धित मन्त्रीहरूलाई विधेयक अघि बढाउन दबाब दिन सुझाव दिए। थापाले भने, "विधेयक समितिले प्रतिवेदन बनाएर संसद्मा लैजान्छ। यदि सरकारलाई त्यो प्रतिवेदन मन परेन भने फिर्ता लिन सक्छ। यो विधेयकलाई थुप्रै समयसम्म अड्काएर राख्न हुँदैन।"
अर्का सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले नै यो विधेयक अघि बढाउन नचाहेको आरोप लगाए। उनले विधेयकलाई छिटो पारित गर्नका लागि विशेष पहल गर्न सभापति ईश्वरीदेवी न्यौपानेलाई सचेत गराए।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले २०७६ सालमा दर्ता भएको विधेयक अहिलेसम्म पारित हुन नसक्नु लाजमर्दो विषय भएको बताए। उनले विगतका सभापतिले पनि यो विधेयकलाई छलफलमा नल्याएको भन्दै आलोचना गरे। उनले समितिलाई आफ्नो अधिकार प्रयोग गरी विधेयकलाई तत्काल अगाडि बढाउन दबाब दिए।
यसैबीच, जनता समाजवादी पार्टीका सांसद अशोककुमार राईले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक नेपाल प्रहरी ऐन लगायतका विधेयकहरूलाई पनि प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेमा जोड दिए।