बागलुङ। नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकहरूले निकै सास्ती भोग्नुपरेको छ। राष्ट्रिय प्राथमिकताको आयोजनामा पर्ने सालझण्डी–ढोरपाटन सडकको ट्रयाक खुलेको १० वर्ष बित्दासमेत अझै स्तरोन्नति हुन सकेको छैन।
ढोरपाटनको प्रवेशद्वार बुर्तिवाङदेखि बोबाङसम्म सडक केही सहज भए पनि त्यसभन्दा माथिको सडक साँघुरो, खाल्डाखुल्डी र हिलाम्मे छ। यस कारण सवारीसाधनहरूलाई ढोरपाटन पुग्न निकै कठिन हुने गरेको छ। वर्षाका कारण सडकमा माटो, हिलो र ढुङ्गा थुप्रिएका छन्।
ढोरपाटन घुम्न आएका तुफान सापकोटाले आफ्नो गाडी बिग्रिएर दुई दिनसम्म बाटोमै अलपत्र परेको गुनासो गरेका छन्। उनले सामाजिक सञ्जालमा ढोरपाटनको सुन्दरता देखेर आएको भए पनि सडकको अवस्थाले निकै दुःख पाएको बताए।
ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खीमबहादुर घर्तीमगरले सडकको दुरावस्थाले हजारौँ नागरिक र पर्यटकलाई समस्या परेको बताए। उनले निर्माण कम्पनीले समयमै काम नगरेकाले यो अवस्था आएको बताए। बागलुङ खण्डमा सडक ट्रयाक २०७१ सालमै खुलेको थियो। गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर र सालझण्डीदेखि ढोरपाटनसम्मको १९७ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता चार वर्षअघि भएको भए पनि काम हुन सकेको छैन।