पूर्ण समानुपातिक प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र समस्या समाधान हुन्छः सांसद सापकोटा
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
701
Shares
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा सांसद माधव सापकोटाले मुलुकका विद्यमान राजनीतिक समस्याहरूको समाधान पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखमार्फत मात्र सम्भव हुने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समीक्षा’ विषयक कार्यक्रममा बोल्दै उनले पूर्ण समानुपातिक प्रणालीमा नजाँदासम्म संविधानबारे भइरहेका बहसहरू अर्थहीन हुने टिप्पणी गरे। उनले सत्तारुढ प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) अझैसम्म यस प्रणालीमा जान तयार नभएको औँल्याए।
सापकोटाले माओवादीको स्पष्ट दृष्टिकोण नै प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने रहेको दोहोर्याए। उनले सांसदहरूलाई मन्त्री बन्न नपाउने व्यवस्था गर्न सके मात्र विधायिकी काम प्रभावकारी हुने तर्क गरे।
‘सांसदहरूको काम नै निगरानी गर्ने, खबरदारी गर्ने हो, तर उनीहरू आफैँ मन्त्रीको लाइनमा बस्दा कसरी अनुगमन र खबरदारी गर्छन्?’ सापकोटाले प्रश्न गरे। उनले संविधानलाई समयानुकूल संशोधन गरी जनतामुखी बनाउनका लागि यी तीनवटा व्यवस्थालाई माओवादी केन्द्रले दीर्घकालीन दृष्टिकोणका रूपमा अघि सारेको बताए।