धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले धनगढीको शिवनगरमा निर्माण भएको दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको टेलिफोनबाटै उद्घाटन गरेकी छन् । काठमाडौंबाट राष्ट्रपति बोकेर उडेको हेलिकोप्टर खराब मौसमले दाङभन्दा वर आउन नसकेपछि राष्ट्रपतिले दाङको भालुवाङ्गबाट टेलिफोनमार्फत शुभकामना दिई खानेपानी आयोजनाको उद्घाटन गरेकी हुन् । शिवनगर खानेपानी योजना पश्मि नेपालकै नमुना भनिएको छ ।
राष्ट्रपति सवार हेलिकप्टर काठमाडौँबाट धनगढीका लागि उडेको केही समयमै दाङको भालुवाङमा अवतरण गराइएको थियो । राष्ट्रपति भण्डारीले धनगढीको खानेपानी आयोजनाका साथै कैलालीको बर्दगोरिया महोत्सवको उद्घाटन गर्ने कार्यक्रम समेत थियो ।
शिवनगर खानेपानी आयोजनाबाट करिब ३० हजार नगरबासीले स्वच्छ खानेपानी पाउन लागेको उपभोक्ता समितिका अध्यक्ष नारदमुनि रानाले बताए । आयोजनाबाट धनगढी उपमहानगरपालिका १, ५, ७ र ८ का बासिन्दाको घरघरमा स्वच्छ खानेपानी पुगेको शिवनगर खानेपानी उपभोक्ता समितिले जनाएको छ । सन् २०१२ जनवरीबाट निर्माण सुरु भएको उक्त आयोजना २०१५ मा सकिएको थियो ।
आयोजनामार्फत धनगढी नगर क्षेत्रका दुई हजार १५५ घरधुरीमा धारा जडान भइसकेको छ । कुल पाँच हजार बढी घरधुरीमा धारा वितरण गर्ने योजना रहेको छ । यस्तै २४४ वटा व्यक्तिगत शौचालय निर्माणसमेत गरिएको आयोजनाले जानकारी दिएको छ । धारा जडान गरिएकामध्ये गरिब एवं विपन्न २९१ घरधुरीबाट न्यूनतम शुल्क लिई धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष रानाले बताए ।
आयोजना नेपाल सरकारको पहलमा एसियाली विकास बैंक एडीबीको अनुदान सहयोग समेत गरी कुल १८ करोड १२ लाख २६ हजार ५७० को लागतमा निर्माण भएको हो । कुल लागतमध्ये ५० प्रतिशत एडीबीको अनुदान सहयोग, ४५ प्रतिशत नगर विकास कोषको ऋण र पाँच प्रतिशत उपभोक्ताको श्रमदान रहेको आयोजना निर्माण समितिले जनाएको छ ।