बालेन सरकारलाई जनताको समस्याभन्दा ‘लाइक’ र लोकप्रियताको बढी चिन्ता छ: गगन थापा
हाम्रा कुरा
प्रकाशित २०८३ असार २१ आइतबार
372
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारलाई नागरिकका वास्तविक समस्या समाधान गर्नुभन्दा सस्तो लोकप्रियता र चर्चाको बढी चिन्ता रहेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बालेन सरकारको सय दिने कार्यकाल र १०० बुँदे कार्ययोजनाबारे पार्टी संयन्त्रको समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
सभापति थापाले सरकारको कार्यशैली नागरिकको उठिबास लगाएर सामाजिक सञ्जालमा चर्चा कमाउने कार्यमा मात्र सीमित भएको आरोप लगाए। "यो सरकारलाई लाइफ (नागरिकको जीवन) भन्दा बढी लाइक (सञ्जालको चर्चा) को चिन्ता छ," थापाले भने, "सरकारलाई वास्तविक जीवनका सवालभन्दा पनि सस्तो लोकप्रियताको मोह बढी देखिन्छ, जसलाई पछिल्ला केही उदाहरणबाट स्पष्ट बुझ्न सकिन्छ।"
नेपालमा भूमिहीनको समस्या एक गम्भीर र संरचनागत समस्या रहेको उल्लेख गर्दै संविधान निर्माणका क्रममा आफू स्वयं समितिमा रहेर दलित र भूमिहीनका हकका लागि विशेष अधिकारका व्यवस्थाहरू लेखेको उनले स्मरण गराए। तर, अहिले सरकारले उचित वैकल्पिक व्यवस्थापन नै नगरी टोल-टोलमा डोजर पुर्याएर गरिब र भूमिहीनको उल्टै उठिबास लगाउने काम गरेको भन्दै उनले आपत्ति जनाए। यो कदम पूर्णतः प्रक्रियागत नभएको उनको ठहर थियो।
यद्यपि, सरकारले हालै मुलुकका दलित समुदायसँग माफी माग्ने निर्णय गरेको विषयलाई भने उनले सकारात्मक कदमका रूपमा लिएका छन्। यसका साथै, प्रधानमन्त्री वालेन्द्र साह बालेनले सिंहदरबारभित्रै बसेर शासकीय सुधारका कामहरू सञ्चालन गर्ने र अनावश्यक उद्घाटन तथा शिलान्यासका औपचारिक कार्यक्रमहरू त्याग्ने नीति लिनु हेर्दा सामान्य लागे पनि शासन सञ्चालनका लागि एउटा सकारात्मक सङ्केत भएको सभापति थापाले बताए।