arrow

हेलि दाङमै अड्किएपछि राष्ट्रपतिले टेलिफोनबाट गरिन् खानेपानीको उद्घाटन

logo
प्रकाशित २०७३ माघ १४ शुक्रबार
bidyadevi.jpg.jpeg

धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले धनगढीको शिवनगरमा निर्माण भएको दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको टेलिफोनबाटै उद्घाटन गरेकी छन् । काठमाडौंबाट राष्ट्रपति बोकेर उडेको हेलिकोप्टर खराब मौसमले दाङभन्दा वर आउन नसकेपछि राष्ट्रपतिले दाङको भालुवाङ्गबाट टेलिफोनमार्फत शुभकामना दिई खानेपानी आयोजनाको उद्घाटन गरेकी हुन् । शिवनगर खानेपानी योजना पश्मि नेपालकै  नमुना भनिएको छ ।

राष्ट्रपति सवार हेलिकप्टर काठमाडौँबाट धनगढीका लागि उडेको केही समयमै दाङको भालुवाङमा अवतरण गराइएको थियो । राष्ट्रपति भण्डारीले धनगढीको खानेपानी आयोजनाका साथै कैलालीको बर्दगोरिया महोत्सवको उद्घाटन गर्ने कार्यक्रम समेत थियो ।

शिवनगर खानेपानी आयोजनाबाट करिब ३० हजार नगरबासीले स्वच्छ खानेपानी पाउन लागेको उपभोक्ता समितिका अध्यक्ष नारदमुनि रानाले बताए । आयोजनाबाट धनगढी उपमहानगरपालिका १, ५, ७ र ८ का बासिन्दाको घरघरमा स्वच्छ खानेपानी पुगेको शिवनगर खानेपानी उपभोक्ता समितिले जनाएको छ । सन् २०१२ जनवरीबाट निर्माण सुरु भएको उक्त आयोजना २०१५ मा सकिएको थियो ।

आयोजनामार्फत धनगढी नगर क्षेत्रका दुई हजार १५५ घरधुरीमा धारा जडान भइसकेको छ । कुल पाँच हजार बढी घरधुरीमा धारा वितरण गर्ने योजना रहेको छ । यस्तै २४४ वटा व्यक्तिगत शौचालय निर्माणसमेत गरिएको आयोजनाले जानकारी दिएको छ । धारा जडान गरिएकामध्ये गरिब एवं विपन्न २९१ घरधुरीबाट न्यूनतम शुल्क लिई धारा जडान गरिएको उपभोक्ता समितिका अध्यक्ष रानाले बताए ।

आयोजना नेपाल सरकारको पहलमा एसियाली विकास बैंक एडीबीको अनुदान सहयोग समेत गरी कुल १८ करोड १२ लाख २६ हजार ५७० को लागतमा निर्माण भएको हो । कुल लागतमध्ये ५० प्रतिशत एडीबीको अनुदान सहयोग, ४५ प्रतिशत नगर विकास कोषको ऋण र पाँच प्रतिशत उपभोक्ताको श्रमदान रहेको आयोजना निर्माण समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ