बागलुङ। बागलुङको बोक्से–सिगाना सडकको दिगोपनका लागि पहिरो रोकथाम गर्न ‘बायो इन्जिनियरिङ’ प्रविधि अपनाइएको छ। हालै कालोपत्र गरिएको १० किलोमिटर सडक खण्डमा देखिएका पहिरोहरू नियन्त्रण गर्न निर्माण व्यवसायीले यो प्रविधिको प्रयोग गरेका हुन्।
निर्माण व्यवसायी कर्ण बिल्डर्सका प्रतिनिधि सन्दीप श्रेष्ठका अनुसार, सडक फराकिलो बनाउने क्रममा खसेका एक दर्जन पहिरोहरूलाई व्यवस्थापन गर्न नेपियर जातको १५ सयभन्दा बढी घाँस रोपिएको छ। यो प्रविधिले सडक संरक्षण गर्नुका साथै जलवायु अनुकूलन, मुहान संरक्षण र स्थानीय किसानको पशुपालनमा पनि सहयोग पुग्ने उनको भनाइ छ।
के हो बायो इन्जिनियरिङ?
भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रले बताएअनुसार, बायो इन्जिनियरिङ भनेको वनस्पति र प्राकृतिक सामग्रीको प्रयोग गरी भू-क्षय र पहिरो रोकथाम गर्ने एक वैज्ञानिक विधि हो। यसमा माटो र पानीको बहाव नियन्त्रण गर्न काँस, अम्रिसो, नेपियर घाँस लगायतका बिरुवाहरू रोपिन्छ। यसले एकातर्फ पहिरो खस्नबाट जोगाउँछ भने अर्कातर्फ पानीका मुहान सुक्नबाट पनि बचाउँछ।
मिश्रले पहाडी क्षेत्रमा विकास निर्माण गर्दा यस्ता हरित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। नेपालको भू-भागका लागि यो प्रविधि निकै उपयुक्त भएको उनको भनाइ छ।
एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक अन्तर्गतको यो सडक खण्ड २९ करोड ३७ लाख ८८ हजार रुपैयाँको लागतमा दुई वर्षअघि ठेक्का सम्झौता गरिएको थियो।