निरन्तर हुने कर्मचारी हेरफेरका कारण दीर्घकालीन काममा चुनौती : मन्त्री पाण्डे
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
568
Shares
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफू शासक नभई सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएका छन् ।
मन्त्रालयमा आयोजित कर्मचारी बैठक तथा तीज विशेष शुभकामना कार्यक्रममा उनले मन्त्री एक्लैले केही गर्न नसक्ने भन्दै सबैको साथले परिणाम आउने भन्दै उनले आफू सहजकर्ताको भूमिका निर्वाह गर्ने बताएका हुन् ।
उनले भने, ‘म तपाईंहरूको शासक नभई सहजकर्ताको रूपमा कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्नेमा सचेत छु । मन्त्री एक्लैले केही गर्न सक्दैन, तपाईंहरूको साथ-सहयोगले मात्रै परिणाम आउँछ।’
मन्त्री पाण्डेले कार्यसम्पादन सम्झौताअनुसार अघि बढेमात्र जनतालाई सेवा प्रवाहमा ठोस उपलव्धि निकाल्न सकिने विश्वास व्यक्त गरे । उनले निरन्तर हुने कर्मचारी हेरफेरका कारण दीर्घकालीन काममा चुनौती आउने पनि बताए ।
उनका अनुसार कानुनी संशोधनपछि पर्यटन क्षेत्र उद्योग सरह सेवा-सुविधाले उत्साहित बनेको छ। बजेटीय सीमितता भए पनि संस्कृति, पर्यटन र नागरिक उड्डयनलाई राष्ट्रकै ठूलो सम्भावना बोकेका आधारस्तम्भका रूपमा अघि बढाउनुपर्ने धारणा उनले राखे ।
उनले पर्यटन नीति कार्यान्वयनले उत्साह जगाएको, नयाँ हवाई नीति तयारी भइरहेको र कानुनी सुधारका प्रक्रिया निरन्तर अघि बढाइरहेको जानकारी दिए ।
त्यस अवसरमा मन्त्री पाण्डे र सचिव हरिप्रसाद मैनालीबीच आर्थिक वर्ष २०८२/०८३ का लागि कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ । कार्यक्रममा मन्त्री पाण्डेले कर्मचारीलाई जिम्मेवारीप्रति इमानदार र नतिजामुखी हुन निर्देशन दिए ।