सुदूरपश्चिमको पर्यटनलाई चलायमान बनाउन आवश्यक छः मन्त्री पाण्डे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
626
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका छन् ।
सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्वसन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपिश्चम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा शुक्रबार भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तक्र्रियामा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्भेन्चरको समिश्रण भएको बताउँदै लगानीका लागि आह्वान गरेका हुन् ।
उनले सुदूरपश्चिमको पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको स्पष्ट पारे । उनले भने, ‘सगरमाथा, पोखरा, सौराहा, लुम्विनी चलायमान छन् । बर्दिया पनि सौराहा जत्तिकै चलायमान छ । तर सुदूरपश्चिम पछि परेको छ । यसलाई पनि चलायमान बनाउन लगानी सम्मेलनले महत्वपूर्ण भूमिका खेल्छ भन्नेमा विश्वास छ ।’
उनले भने, ‘सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्भेन्चरको समिश्रण भएको प्रदेश हो । सुदूरपश्चिका थुप्रै पर्यटकीय सम्भावना उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत् सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्तालाई आह्वान पनि गर्दछु ।’
लगानी सम्मेलनको सम्पूर्ण आयाममार्फत् पूर्ण तयारीमा उल्लेख गर्दै मन्त्री पाण्डेले भने, ‘हामीले यसका लागि निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानूनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्दछ ।’
सुदूरपश्चिमको पर्यटन विकासका लागि सूदूरपश्चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी गराए ।
यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपपश्चम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गरे ।
उनले भने, ‘हामी सुदूरपश्चिमका सम्भावनालाई लगानी सम्मेलनमार्फत् राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन चाहन्छौँ । यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानूनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौँ ।’
मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरेका हुन् ।
सुदूरपश्चिममा आगामी मंसिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि सुदूरपश्चिम सरकार काठमाडौंमा आएर विभिन्न निकायसँग छलफल गरिरहेको छ ।
शुक्रबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम सरकारका तर्फबाट सुदूरपश्चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाटाका सीईओ यूविका राज भण्डारी, एनएमएका उपाध्यक्ष ठाकुर राज पाँडे, सिद्धार्थ होटल एण्ड ग्रुप अफ कम्पनीका सीइओ कृष्ण न्यौपाने, टानका महासचिव रामप्रसाद सेढाई, नेपाल उद्योग परिसंघको पर्यटन समिति सभापति पम्फा धमला, नाराका महासचिव देवराज जोशीलगायत सहभागी थिए ।
पर्यटनसम्बन्धी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिले सुदूरपश्चिममा लगानी गर्न आफूहरु तयार रहेको भए पनि सरकारले आवश्यक नीति र लगानीको क्षेत्र पहिचान गर्नुपर्ने सुझाव दिएका हुन् ।
सरकारले पछिल्लो समय सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालको आरोहण दुई वर्षका लागि निःशुल्क गरेको छ ।
सुदूरपश्चिमका पछिल्लो समय धनगढी विमानस्थलको स्तरोन्नति र कञ्चनपुर विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको छ ।
छलफलमा सुदूरपश्चिम धार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै लगानीका लागि आह्वान गरिएको हो ।