त्रिभुवन विमानस्थलको सीमितता: यात्रु छिटो, सामान ढिलो, मन्त्री पाण्डेको भनाई
त्रिभुवन विमानस्थलमा यात्रुको ’दोब्बर चाप’
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
2k
Shares
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रफल साँघुरो भएकाले यात्रु व्यवस्थापनमा केही चुनौती रहेको बताएका छन्।
अन्य देशका ठूला विमानस्थलको तुलनामा यहाँको बनावट फरक भएकाले यात्रुहरूले सामानका लागि लामो समय कुर्नुपरेको जस्तो लाग्ने उनको भनाइ छ।
मन्त्री पाण्डेका अनुसार, त्रिभुवन विमानस्थल र टर्मिनल भवनहरू एकअर्काको नजिकै रहेकाले विमानबाट ओर्लेर यात्रुहरू तुरुन्तै टर्मिनल भवनमा आइपुग्छन्। यसले गर्दा उनीहरूलाई लगेज लिन धेरै समय लागेको अनुभव हुने गर्छ। "अरू देशमा एउटा मान्छे एउटा प्लेनबाट उत्रिएर लगेज लिने ठाउँसम्म आइपुग्न नै निकै समय लाग्छ। हाम्रो जोडिएको छ, नजिकै छ, मान्छे तुरुन्तै आइपुग्छ," पाण्डेले भने।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता वार्षिक ४५ लाख यात्रुलाई व्यवस्थापन गर्ने भए पनि यस वर्ष ९५ लाखभन्दा बढी यात्रुहरूले ओहोरदोहोर गरेकाले विमानस्थलमा क्षमताभन्दा दोब्बर चाप रहेको बताए। यस्तो खचाखच अवस्थाका बाबजुद पनि विमानस्थलको सेवालाई छरितो र प्रभावकारी बनाउन सरकार गम्भीर रहेको उनले स्पष्ट पारे।
मन्त्री पाण्डेले कैलाश मानसरोवर जाने पर्यटकहरूका लागि चिनियाँ दूतावासले पूर्वसूचनाबिना नै भेरिफिकेसनको नयाँ नियम लागू गरेका कारण समस्या आएको जानकारी दिए। यस विषयमा सरकारले चिनियाँ दूतावाससँग ध्यानाकर्षण गराएको पनि उनले बताए।