नेपाल एयरलाइन्सका लागि जहाज थप्नेबारे सरकार आन्तरिक गृहकार्यमा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
769
Shares
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सका लागि जहाज थप्नेबारे सरकारले आन्तरिक गृहकार्य गरिरहेको बताएका छन्। बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै मन्त्री पाण्डेले हाल नेपाल एयरलाइन्सका छवटै जहाज सञ्चालनमा रहे पनि यात्रुको मागअनुसार उडान गर्न जहाज अभाव रहेको बताए।
मन्त्री पाण्डेले एयरलाइन्सका सम्भावित प्राविधिक समस्याहरूप्रति पनि मन्त्रालय गम्भीर रहेको बताए। उनले सातवटै प्रदेशमा साना विमान सञ्चालन गर्ने सम्भावनाबारे पनि मन्त्रालयले प्रारम्भिक छलफल अघि बढाएको जानकारी दिए। प्रदेशअन्तर्गतका विमानस्थलहरू सञ्चालनका लागि प्रत्येक प्रदेशमा एउटा-एउटा सानो विमान किन्नेबारे पनि प्रदेश सरकारहरूसँग छलफल भइरहेको उनको भनाइ छ। उनले नेपाल एयरलाइन्सको हवाई सेवा सशक्त बनाउन मन्त्रालयले पारदर्शी प्रक्रियामार्फत नयाँ विमान खरिद गर्ने वा लिजमा ल्याउने योजना बनाइरहेको स्पष्ट पारे।
मन्त्री पाण्डेले भने, "नेपाल एयरलाइन्सका ६ वटै प्लेनहरू अहिले धेरै वर्षपछि चलिरहेको अवस्था छ। र हामीले प्राविधिक रूपमा बिग्रन सक्ने कुरामा सचेत रहन पनि भनेका छौं। सम्भवतः अब त्यस्तो समस्या नआउला। सी चेकको समय पनि अलि पछि नै छ। मुख्य समस्या हामीसँग प्लेनको अभाव भएरै परेको देखिन्छ।"
उनले ठूला विमानहरूको सन्दर्भमा जापान, थाइल्यान्ड, अस्ट्रेलिया र कोरियालगायतका गन्तव्यहरूमा समेत सीधा उडान नपुगेको र धेरै ठाउँमा उडानको आवश्यकता महसुस भएको बताए। "त्यति धेरै हामीसँग एयरक्राफ्ट छैनन्। त्यसको लागि पारदर्शी हिसाबले किन्ने र त्यसको लागि स्रोत जुटाउने तथा लिजमा चलाउने उपायका बारेमा मन्त्रालय सोचिरहेको छ," उनले भने।
मन्त्री पाण्डेले नेपालसँग विमान अभाव भएकै कारण विदेशी हवाई कम्पनीहरूले नेपाली यात्रुहरूलाई बढी भाडा तिर्न बाध्य पारिरहेको टिप्पणी गरे। उनले भने, "एउटा कतार एयरलाइन्सले मात्रै हाम्रो ३१ प्रतिशत यात्रु बोक्छ। त्यसैले विदेशी एयरलाइन्सहरूले लतार्नुभएको छ। धेरै भाडामा नेपाली यात्रुहरूलाई उड्न बाध्य पार्नुभएको छ। त्यसकारण हाम्रो क्षमतामा वृद्धि गर्नु नै एकमात्र उपाय हो।" उनले जति धेरै जहाज थप्न सक्यो, त्यति नै समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गरे।