विद्यमान विमानस्थल सञ्चालन र नयाँ निर्माणका लागि ५० अर्ब बजेट आवश्यक: मन्त्री पाण्डे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
522
Shares
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालका विद्यमान विमानस्थलहरू सञ्चालन गर्न र नयाँ विमानस्थलसम्बन्धी मागहरू पूरा गर्न ५० अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने बताएका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
मन्त्री पाण्डेले स्रोतको सीमितताका कारण मन्त्रालयले धेरै योजनाहरू समेट्न नसकेको स्पष्ट पारे। उनले मन्त्रालयले निर्माण गरेको बजेट अर्थ मन्त्रालयले तोकेको सिलिङभित्रै सीमित रहेको बताए। उनका अनुसार, बजेट निर्माण प्रक्रिया सुरु हुँदा अर्थ मन्त्रालयले २५-३० करोडको मात्रै सिलिङ दिएको थियो, जसले गर्दा ३ करोडभन्दा साना योजना बनाउन नमिल्ने मापदण्डका कारण ८-१० वटा कार्यक्रम मात्र बनाउन सक्ने क्षमता थियो।
"अहिले हाम्रो मन्त्रालयअन्तर्गत तीन करोडभन्दा कम लागतका योजना समेत परेका छन्," मन्त्री पाण्डेले भने, "हामीले क्रमागत योजना कतै पनि छुटाएका छैनौँ। तिनलाई अधुरो नराख्ने गरी बजेट विनियोजन गरेका छौँ।"
मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको सेवालाई प्रभावकारी बनाउनका लागि नीतिगत सुधारका कामहरू भइरहेको बताए। उनले नेपालका पर्यटकीय क्षेत्रहरूको सुधारका लागि समेत पर्यटन नीतिको पुनरावलोकन गर्न लागेको जानकारी दिए। मन्त्रालयमा आएका सबै योजनाहरूको व्यवस्थित रेकर्ड राखेको र उक्त योजना कार्यान्वयनका लागि आवश्यक पहल थाल्ने पनि उनले उल्लेख गरे।
उनले बजेट माग्ने र दिनेभन्दा पनि सबैको सहभागितामा योजना बनाउने परिपाटी रोज्नुपर्नेमा जोड दिए। यसले सीमित स्रोतका बाबजुद पर्यटन र उड्डयन क्षेत्रको विकासमा सरकारको प्राथमिकता देखाउँछ।