सरकारले लोकतन्त्र र राष्ट्रिय आयोजना दुवैलाई पछाडि धकेलिरहेको छ: सांसद पौडेल
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
1.6k
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले सरकारले राष्ट्रिय गौरवका आयोजनाहरू र लोकतन्त्र दुवैलाई पछाडि धकेलिरहेको भन्दै आलोचना गरेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले सरकारले सुशासन कायम गर्नुको सट्टा विपक्षी दलहरूमाथि अपमानजनक व्यवहार गरिरहेको आरोप लगाए। उनले लोकतन्त्रमा जहाँ सरकार हुन्छ, त्यहाँ भरोसा हुनुपर्नेमा जनतामा निराशा बढ्दै गएको टिप्पणी गरे।
उनले राष्ट्रिय गौरवका आयोजनाहरू दुई दशकसम्म पनि पूरा नभएको अवस्थामा प्रधानमन्त्रीले संसदमा देश स्वर्ग भएको जस्तो घोषणा गरेकोमा आपत्ति जनाए। 'आफूले गर्न नसकेका कामको सबैले जिम्मा पनि लिनुपर्छ,' उनले भने।
सांसद पौडेलले भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले संसद बहिष्कार गरे पनि सरकारले संवादमार्फत समस्या समाधान गर्न कुनै पहल नगरेको आरोप लगाए। उनले सरकारको धुन र संगीत दुवै नमिलेको भन्दै कटाक्ष गरे। उनले सरकारलाई मुलुकमा सुशासन कायम गर्न र जनतामा आशा जगाउने काम गर्न आग्रह गरे।