सत्तापक्ष दुई दलीय व्यवस्थातर्फ उन्मुख, यो अनुपयुक्त छ: सांसद बस्नेत
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
1.9k
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधताका लागि दुई दलीय प्रणाली अनुपयुक्त हुने तर्क गरे। उनले यो प्रणाली अन्ततः एक दलीय व्यवस्थातर्फ धकेलिने बताए।
“नेपालजस्तो बहुवर्गीय सामाजिक तथा आर्थिक हिसाबले विविधतायुक्त समाजमा यो दुई दलीय व्यवस्था न त सैद्धान्तिक रूपमा ठीक छ, न त व्यावहारिक ढंगले नै उपयुक्त हुन्छ,” उनले भने। बस्नेतले सत्तारुढ दलहरूको यो ‘मिसन’ नेपाली जनताले पूरा हुन नदिने टिप्पणी गरे।
उनले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास सामाजिक न्याय र समावेशीताको सिद्धान्तविपरीत भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।