विद्युत् सेवाविहीन निसेलढोर, सयौँ स्थानीय अन्धकारमा बस्न बाध्य
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
673
Shares
ढोरपाटन (बागलुङ)। नेपालकै एकमात्र सिकार आरक्ष ढोरपाटनभित्र पर्ने निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर गाउँमा अझै पनि विद्युत् सेवा पुग्न सकेको छैन। करिब तीन सय घरधुरी रहेको यस गाउँमा अधिकांश स्थानीय टुकी र दियालोकै भरमा रात बिताउन बाध्य छन्।
केही परिवारले सोलार प्यानल प्रयोग गरे पनि अधिकांश स्थानीयलाई बिजुलीको अभावले समस्या परेको छ। यस गाउँमा खानेपानी र सडकको पहुँच पुगे पनि विद्युत् सेवा पुग्न नसक्दा सयौँ बासिन्दा अन्धकारमा बस्न बाध्य छन्।
स्थानीय चन्द्रबहादुर घर्तीमगरका अनुसार, पहिले बर्खायाममा मात्र यहाँ बसाइँ सर्ने गरेका मानिसहरू अहिले स्थायी रूपमा बस्न थालेका छन्। पछिल्लो पाँच वर्षयता स्थायी बसोबास गर्नेको संख्या बढे पनि बिजुलीको सुविधा नहुँदा उनीहरूलाई निकै गाह्रो भएको छ।
स्थानीय पानकुमारी विकले विद्युत् नहुँदा मोबाइल चार्ज गर्नसमेत समस्या भएको बताइन्। उनले मोबाइल चार्ज गर्न दुई घण्टा हिँडेर ढोरपाटन नगरपालिका–९, भुजी पुग्नुपर्ने बाध्यता रहेको बताइन्।
निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरले निसेलढोरमा बिजुली पुर्याउनका लागि प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरिरहेको बताए। उनले स्थानीय जलविद्युत् आयोजनाबाट तार तानेर बिजुली लैजाने भनिए पनि काम हुन नसकेको स्वीकार गर्दै आगामी वर्षसम्ममा गाउँमा बत्ती बालेर छाड्ने प्रतिबद्धता जनाएका छन्।