arrow

के काठमाडौँ साँच्चिकै विश्वव्यापी सहर बन्ने यात्रामा हो ?

logo
डा सुरजराज काफ्ले,
प्रकाशित २०८२ भदौ २ सोमबार
surajraj-kafle-82-5-2.jpg

काठमाडौँ नेपालको राजनीतिक, सांस्कृतिक र आर्थिक मुटु हो। शताब्दीऔँ देखि चल्दै आएका विविध संस्कृतिहरू र तिनका प्रभावहरूको मिलनविन्दु पनि हो । यो उपत्यकामा हिमालका शिखरहरूको छायाँमा बसेका प्राचीन मन्दिरहरू, गल्लीहरूमा गुन्जने बहुभाषिक वार्तालापहरू र पर्यटकहरूको चहलपहलले यसलाई जीवन्त सहरको रूपमा चित्रित गर्छ तर के यो साँच्चै विश्वव्यापी (कस्मोपोलिटन) सहर हो ?

‘कस्मोपोलिटन’ शब्दले विश्वका विभिन्न पृष्ठभूमिका नागरिकहरूले साझा रूपमा बसोबास गर्ने, काम गर्ने र सांस्कृतिक आदानप्रदान गर्ने सहरलाई जनाउँछ। काठमाडौँको ऐतिहासिक पृष्ठभूमिले यसलाई विश्वव्यापी सहर बन्ने आधार प्रदान गर्छ । तिब्बत र भारतबीचको प्राचीन व्यापारिक मार्गका रूपमा यस उपत्यकाले बौद्ध, हिन्दू र अन्य सांस्कृतिक तथा धार्मिक प्रभावहरू ग्रहण गरेको छ। यूनेस्कोद्वारा मान्यता प्राप्त सात विश्व सम्पदा स्थलहरू - जस्तै पशुपतिनाथ, स्वयम्भूनाथ र दरबार स्क्वायरहरूले यसलाई सांस्कृतिक धरोहरको रूपमा स्थापित गरेका छन्।

२०२४ को तथ्यांकअनुसार, काठमाडौँको जनसंख्या ३० लाख नाघेको छ, जसमा २० प्रतिशत विदेशी पर्यटक र कामदारहरू समावेश छन्। विश्व बैंकको नेपाल विकास अपडेट २०२५ मा काठमाडौँको जनसंख्या वृद्धिदर ४.५ प्रतिशत रहेको उल्लेख गरिएको छ । जुन यहाँको जनसंख्यामा ठूलो दबाब हो। यद्यपि, पर्यटनबाट ६.७ प्रतिशत जीडीपीमा योगदान रहेको छ। 

२०२४ को तथ्यांकअनुसार, एक वर्षमा ११.४ लाख पर्यटकहरू आकर्षित गरेर नेपालले पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति गरेकोमा यस्को सुरुवाती गन्तव्य काठमाडौँ नै हो। साथै, थमेल क्षेत्र २४ सै घण्टा खुला गर्ने नीतिले रातको जीवन र आर्थिक गतिविधिलाई गतिशिल बनाइराखेको देखिन्छ । यसले काठमाडौँलाई बहुसांस्कृतिक सहरको रूपमा चित्रित गर्न मद्दत पुगेको छ। 

उदाहरणको रुपमा, थमेलका गल्लीहरूमा नेपाली मोमो, नेवारी खाजा सेट, थकाली भोजन, भारतीय, चिनियाँ, यूरोपेली परिकारहरू, स्वदेशी - विदेशी सँस्कृति, भेषभुषा र संगित मिसिन्छ र अंग्रेजी, नेपाली, तिब्बती, हिन्दी, जापानी र अन्य देशका भाषाका वार्तालापहरू सुन्न सकिन्छ। जस्ले आर्थिक क्रियाकलापहरु लाई गतिशिल बनाउनुका साथै बहुसाँस्कृतिक अभ्यास लाई जीवन्त बनाउने काम गरिरहेको छ।

तसर्थ, विश्वव्यापी सहर हुनुका मुख्य विशेषताहरूमा काठमाडौँ सहर पनि अग्रपंक्तिमा छ। पहिलो, यहाँको सांस्कृतिक विविधतालाई नै लिऔं। यहाँ विभिन्न पृष्ठभूमिका समुदायहरू प्रागऐतिहासिक कालदेखि लिच्छवी, मल्ल, शाह हुँदै विश्वव्यापीकरणको वर्तमान समयसम्म बसोबास गर्दै आएका छन्। तिनै समुदायका खाना, पहिरन, रहनसहन, रीतिरिवाज, चाडपर्व र संगीतको मिश्रित रूपले सहरलाई जीवन्त बनाइरहेको छ।

कस्मोपोलिटन सहर हुनुको सबैभन्दा ठूलो विशेषता आर्थिक कनेक्टिभिटी र सांस्कृतिक विविधता हो। काठमाडौँको सन्दर्भमा तिब्बती र भारतीय समुदायहरूको बाहुल्य छ तर दीर्घकालीन विदेशी बसोबास गर्ने जनसंख्या भने केवल ५ प्रतिशत छ। फेरि हाम्रै देशभित्रका भाषा र संस्कृतिहरू यति धेरै छन् कि तिनले विश्वका विभिन्न देशका भाषा र संस्कृतिसँग कुनै न कुनै रूपमा सांस्कृतिक एकता गराएको जस्तो देखिन्छ ।

बहुसांस्कृतिक सद्भावसहितको आर्थिक वृद्धिमार्फत भौतिक विकासमा कायापलट गर्ने उद्देश्यले अघि बढिरहेको सहर खास मूल्यमा कस्मोपोलिटन हुने हुँदा काठमाडौँले आफ्नो रूपरेखामा केही परिवर्तन ल्याउनु आवश्यक छ। 

कस्मोपोलिटन हुनका लागि हवाई, व्यापार र डिजिटल रूपमा विश्वसँग जोडिनु आधारभूत आवश्यकता हो। एसियन डेभलपमेन्ट बैंक (एडीबी) को २०२५ को प्रतिवेदनले नेपालको विमानस्थल विस्तारले कनेक्टिभिटी बढाउने अनुमान गरेको छ, जसमा चीनसँगको भिसा छुट नीतिले विशेष सहयोग पुर्‍याएको देखिन्छ।

सहज भिसा प्रणाली, अन्तर्राष्ट्रिय सम्मेलनहरू र विविध क्षेत्रमा फस्टाउँदो व्यापारले सहरलाई जीवन्त बनाउँछ। भिसा नीतिहरूले कनेक्टिभिटीलाई प्रभावित गर्छन्। यस्ता आर्थिक खुलापन र सहिष्णुताले काठमाडौँलाई विशेषताले भरिपूर्ण बनाउने हुँदा विश्वलाई आफूतिर आकर्षित गर्ने नीति र कार्यक्रमहरू कस्मोपोलिटन सहरका मापदण्ड हुन्।
काठमाडौँको गोजीमा वर्तमान अवस्थामा कस्मोपोलिटन बनाउन तथ्यहरु र कारणहरु याने बल र वास्तविकता दुवै छन् । 

यसको ऐतिहासिक सांस्कृतिक मिलनविन्दुले यसलाई बलियो बनाएको छ। अन्तर्राष्ट्रिय संस्थाहरूको उपस्थिति जस्तै दूतावासहरू, यूएन निकायहरू र गैरसरकारी संस्थाहरूले विदेशी समुदायलाई बढाएको छ, जसले आर्थिक रुपमा योगदान पुर्याएको छ। सांस्कृतिक सम्पदाहरू जस्तै कुमारी परम्परा र इन्द्र जात्राले यसलाई विश्वस्तरीय तहको आकर्षण स्थल बनाएका छन्, जुन २०२३ को स्विस टुरिजम अवार्डले सम्मानित भएको थियो । यी र यस्ता कारणहरूले काठमाडौँ पर्यटन हवको रूपमा स्थापित हुनु पर्छ ।

यद्यपि विश्वव्यापी सहर बन्नका लागि काठमाडौँमा केही उल्लेखनीय कमी–कमजोरीहरू छन्। पहिलो, यहाँ दीर्घकालीन विदेशी बसोबासको कमी छ। प्रायः विदेशीहरू अस्थायी रूपमा मात्र बस्छन्, जसको कारण पूर्वाधारको अभाव हो। दोस्रो, अन्तर्राष्ट्रिय स्तरमा पहुँचको कमी हो। सीमित प्रत्यक्ष हवाई उडानहरू र अस्थिर इन्टरनेटले यो समस्यालाई बल पुर्‍याएको छ। तेस्रो, पूर्वाधारको कमी छ । ट्राफिक जाम, प्रदूषण, फोहोर व्यवस्थापन र पानीको आवश्यक आपूर्ति ठूलो समस्याको रूपमा रहेका छन्। 

विश्व वायु गुणस्तर प्रतिवेदन २०२३ अनुसार, काठमाडौँ प्रदूषित सहरहरूमा पर्छ, जसले यहाँ बस्नेहरूको आयु औसतमा दुई वर्ष घटाउँछ। चौथो, बहुभाषिक सुविधाको कमी हो। सार्वजनिक सेवामा अंग्रेजी वा अन्य भाषाहरूको अभाव छ। पाँचौँ भनेको अन्तर्राष्ट्रिय व्यापारमा सीमितता हो। पर्यटन र गैरसरकारी संस्थाहरूबाहेक अन्य क्षेत्रहरू खासै चलायमान छैनन्। तसर्थ विदेशी लगानी (एफडीआई) मा व्यापक सुधार नहुने हो भने कस्मोपोलिटन बन्न अर्को पुस्ता कुर्नुपर्ने हुन्छ । 

छैटौँ, राजनीतिक अस्थिरता र उपयुक्त सहरी योजनाको साथै सार्वजनिक स्थलको अभाव हो। खुला पार्कहरू र सुरक्षित भेटघाट स्थलहरू थोरै छन्। राजनीतिलाई सेवा  भन्दा पनि जीविकोपार्जन र ठगीको धन्दा बनाइँदा एकातिर सहरको कस्मोपोलिटन बन्ने रहर मर्दै गैरहेको महसुस हुन्छ ।

यी कमीहरूलाई सम्बोधन गर्दै काठमाडौँलाई विश्वव्यापी सहर बनाउने उपायहरू छन् । पहिलो त दीर्घकालीन रुपमा विदेशीहरुको बसोबासलाई प्रोत्साहन गर्नुपर्छ। सहज भिसा, व्यापार अनुमति, अन्तर्राष्ट्रिय विद्यालय र गुणस्तरीय स्वास्थ्य सेवाहरू उपलब्ध गराउनुपर्छ। विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐनलाई व्यवहारिक रूपमा लागू गर्नुपर्छ। दोस्रो, अन्तर्राष्ट्रिय स्तरमा पहुँचमा सुधार ल्याउनु पर्छ । 

निर्माण भएका ठूला विमानस्थलहरू लाई सक्रिय बनाउने, प्रत्यक्ष उडानहरू बढाउने र उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउनुपर्छ । नागरिक उड्डयन सम्बन्धी नीतिले ९० प्रतिशत प्रत्यक्ष विदेशी लगानीलाई अनुमति दिएको छ, तर यसको कार्यान्वयनमा चनाखो हुनु जरुरी छ।

सार्वजनिक यातायात, प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनमा सुधार गर्नुपर्छ। वर्षाको पानी संकलनवजस्ता उपायहरूले पानीको अभाव घटाउन मद्दत पुग्दछ । तेस्रो, बहुभाषिक सुविधा उपलब्ध गराउनु आवस्यक छ । सार्वजनिक स्थलहरूमा बहुभाषिक संकेतहरू र सेवाहरू प्रदान गर्नुपर्छ । 

प्रविधि र सृजनशील उद्योगहरूको स्थापना गर्नुपर्छ र विश्वभरिका मानिसहरूलाई बोलाएर यहाँको सुन्दरता र विविधतामा लगानी सम्मेलनहरू आयोजना गर्नुपर्छ। यस्तै सार्वजनिक स्थलहरूको स्तर उन्नति र विकास अर्को महत्त्वपूर्ण पक्ष हो। पार्कहरू, पदमार्गहरू र कारमुक्त क्षेत्रहरू आवश्यक छन्। सांस्कृतिक रूपमा पर्यटन र कला महोत्सवहरू आयोजना गर्नुपर्छ। भाइचारा र सहिष्णुता प्रवर्द्धन गर्ने कार्यक्रमहरूका साथ साथै बहुसांस्कृतिक कार्यहरूलाई प्राथमिकतामा राख्नुपर्छ ।

अन्य सहरहरू बाट सिक्न सकिने पाठहरूले काठमाडौँलाई प्रेरणा दिन्छन्। सिंगापुरले नीति र पूर्वाधारमा लगानी गर्दै बहुसांस्कृतिक समन्वय गरेको छ। दुबईले खुला व्यापार नीति र ब्रान्डिङ बाट सफलता पाएको छ। बार्सिलोनाले पर्यटन र स्थानीय जीवनको सन्तुलन गरेको छ, जसमा पदमार्ग मैत्री सहर विकास छ। किगालीले सफाइलाई ब्रान्ड बनाएको छ र टालिनले डिजिटल सेवालाई प्राथमिकता दिएको छ। ग्लोबल सिटिज रिपोर्टअनुसार यी सहरहरूले योजनाबद्ध वृद्धि र विविधताबाट लाभ उठाएका छन्। काठमाडौँले यी सहरहरूका नीति, रणनीति र कार्यनीति सिकेर आफ्नो अनुकूल लागू गर्न सक्छ।

त्यस्का लागि २० वर्षपछि काठमाडौँको कल्पना गर्दा यो सफा, हरित र सुव्यवस्थित सहर बन्नेछ। इलेक्ट्रिक बसहरू, पैदल र साइकल मार्गहरू, बहुभाषिक संकेतहरू र अन्तर्राष्ट्रिय महोत्सवहरूले यसलाई जीवन्त बनाउने छन् । महाबौद्धदेखि बौद्धनाथसम्म नेपाली मोमो सँगै युरोपेली, जापानी, ल्याटिन अमेरिकी र इथियोपियन रेस्टुरेन्टहरू सञ्चालन हुनेछन् । प्रविधि, कला र नवीकरणीय ऊर्जामा रोजगारी बढ्नेछ। तर, आधुनिकताको बीचमा इन्द्रजात्रा र स्वयम्भूको घण्टीको ध्वनि पनि ज्यूँका त्यूँ बज्ने छ, कायम रहनेछ।

तसर्थ काठमाडौँलाई कस्मोपोलिटन सहर बनाउन सर्वप्रथम खुला र समावेशी नीतिहरू आवश्यक छन्। आमजनतालाई सहज हुने, विभिन्न मुलुकका मानिसहरूलाई बसोबास, रोजगारी र उद्यम गर्न सहज वातावरण दिने कानूनी प्रबन्ध हुनुपर्छ । भाषा, संस्कृति र धर्मप्रति सम्मानपूर्ण दृष्टिकोण राख्ने नीति अपनाउँदा विविध पृष्ठभूमिका मानिसहरूले सहजै अपनत्व महसुस गर्छन् ।

रणनीतिक रूपमा विश्वस्तरीय पूर्वाधार विकास अनिवार्य छ। गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात र सञ्चार प्रणालीले मात्र अन्तर्राष्ट्रिय स्तरका मानिसहरूलाई आकर्षित गर्न सक्छ। सुरक्षित आवास, हरित पार्क, मनोरञ्जनका स्थल र स्मार्ट सिटी प्रविधिको प्रयोगले जीवनस्तरलाई सहज र आकर्षक बनाउँछ ।

कार्यक्रमगत रूपमा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान, कला–संगीत, खेलकुद र व्यावसायिक प्रदर्शनी जस्ता क्रियाकलाप निरन्तर आयोजना गरिनुपर्छ। यसले सांस्कृतिक विविधतालाई स्वीकार गर्ने वातावरण सिर्जना गर्छ । त्यस्तै विदेशी लगानीलाई प्रोत्साहन गर्ने, स्टार्ट अपहरूलाई समर्थन गर्ने र उच्च प्रविधि तथा अनुसन्धान केन्द्र खोल्ने कार्यले विश्वका दक्ष जनशक्तिलाई आकर्षित गर्छ ।

अझ काठमाडौँ उपत्यकाका सबै नगरहरु र महानगरहरु‌लाई एकत्रित गरी विकास निर्माण र सांस्कृतिक  विविधताका संरचनाहरु लाई एकमुष्ट रुपमा अध्ययन गर्दै एक द्वार प्रणालीबाट सेवा प्रदान गर्ने नीति अबलम्बन गर्ने हो भने यहाँको आकर्षण भिन्दै प्रकृतिको हुने छ ।

अन्त्यमा काठमाडौँ सधैं संस्कृतिको मिलनविन्दु रहँदै आएको छ । अब यसलाई योजनाबद्ध, समावेशी र आधुनिक ढंगले विस्तार गर्दै विश्वव्यापी सहर बनाउनु आवश्यक छ, जसले यसको मौलिकता कायम राख्दै विश्वका नागरिकहरूको साझा घर बनोस् । यो यात्राले नेपालको समग्र विकासलाई गति दिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ