arrow

एक्काइस महिनापछि रगनीमा बल्ल अनुदानको पहिलो किस्ता

logo
प्रकाशित २०७३ माघ १३ बिहिबार
ragi-bhukampa.jpeg
 
रगनी (ओखलढुंगा)। श्रममन्त्री सूर्यमान गुरुङले पुनःनिर्माण र आवास निर्माणका लागि अनुदान वितरणमा सरकारले कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाएका छन् ।जिल्लाको सबैभन्दा सुदूरपश्चिमस्थित रगनी गाविसको चण्डेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा आवास निर्माण अनुदान प्रदान कार्यक्रमको बिहिबार शुभारम्भ गर्दै उनले भूकम्पपीडित जनताको राहत र सहयोगका लागि यहाँका जनप्रतिनिधिले पुर्‍याएको योगदान अनुकरणीय रहेको बताए ।
 
श्रममन्त्री गुरुङले भने – 'सबै जनता र राजनीतिक दलहरु मिलेर देश र जनताको भलो हुने काम गर्नुपर्छ, जनतालाई परेको अप्ठेरोलाई सुल्झाउने काममा ओखलढुङ्गाका सांसदले सक्रिय रुपमा काम गरेर आफूलाई सक्षम सावित गरिसक्नुभएको छ ।'सो अवसरमा मन्त्री गुरुङले स्थानीय सुजिता बुढाथोकीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेर शिविर सञ्चालनको शुभारम्भको घोषणा गरे।
 
सांसद रामहरि खतिवडाले सबै राजनीतिक दल र स्थानीय प्रशासनको संयुक्त प्रयासमा जिल्लाको पलापुबाट सुरु गरिएको अनुदान वितरणसहितको एकीकृत घुम्ती शिविरबाट जिल्लाका अधिक जनता लाभान्वित मात्र भएको होइन अरु जिल्लाका लागिसमेत यस्तो कार्यक्रम नमुना बनेको धारणा व्यक्त गरे।अर्का सांसद यज्ञ सुनुवारले भूकम्प प्रभावितमध्ये सबैभन्दा बढी मानवीय र भौतिक पूर्वाधारको क्षति भएको रगनीमा आयोजना भएको घुम्ती शिविरबाट स्थानीय जनता निकै लाभान्वित भएको बताए ।
 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव जनार्दन गुरागार्इंले जिल्लाका कुल लाभग्राही १९ हजार ८१९ मध्ये १८ हजार ४८६ सग अनुदान सम्झौता गरिएकामा १८ हजार ३०१ लाई बैंकमार्फत रकम पठाइसकिएको जानकारी दिए ।
 
प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले रगनी गाविसका ७१९ घर परिवारलाई  आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजारको दरले दुई दिनभित्र रकम वितरण हुने जानकारी दिए ।
 
गाविस सचिव प्रदीप पौडेलले जिल्लाका सबै राजनीतिक दलबीच भएको सहमतिअनुरुप घुम्ती शिविरमा आवास अनुदान वितरणका साथै जिल्ला प्रशासनबाट नागरिकता, निर्वाचन कार्यालयबाट मतदाता परिचयपत्र, महिला कार्यालयबाट अपाङ्गलाई परिचयपत्र वितरणका साथै नेपाली सेनाबाट स्वास्थ्य शिविरजस्ता सेवा उपलब्ध गराइएको जानकारी दिए । 
 
एक नगरपालिकासहित ५० गाविस रहेको ओखलढुङ्गा सात हजार ८१० जनाले अनुदानका बारेमा गुनासो गरेकामा ६ हजार ४४ गुनासा हेरिसकेको प्राधिकरणले जनाएको छ । ओखलढुङ्गामा हालसम्म ७६७ वटा घर बन्दै गरेको तथा ६९९ जनाले दक्ष डकर्मीको तालिम लिएको जानकारी दिइएको छ ।   
 
ओखलढुङ्गाका २३४ परिवारले अघिल्लो वर्ष नै वितरण गर्ने भनेर सरकारले घोषणा गरेको न्यायो कपडाबापतको भत्ता अझै प्राप्त गर्न नसकेको जानकारी दिइयो । भूकम्प गएको २१ महिनापछि रगनी गाविसका स्थानीयवासीले आवास निर्माणका लागि पहिलो किस्ताको रकम प्राप्त गर्न लागेका हुन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ