arrow

बागमती प्रदेश

बागमती प्रदेश सरकारले पायो पूर्णता, कांग्रेसबाट थप पाँच मन्त्री नियुक्त [भिडियो]

लामा पक्षका सांसदहरू समेटिएनन्

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
bagmati-mantri.jpg

काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसका पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका छन्। आज प्रदेश प्रमुखको कार्यालयमा नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।

नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्मा रिक्त रहेका पाँच मन्त्रालयमा आज मन्त्री नियुक्त गरिएको हो। मुख्यमन्त्री बानियाँले आर्थिक मामिला तथा योजना मन्त्रालयमा रसुवाका प्रभात तामाङ लाई नियुक्त गरेका छन्। त्यसैगरी, सामाजिक विकास मन्त्रालयमा कञ्चनचन्द्र बादे, संस्कृति तथा पर्यटन मन्त्रालयमा सुरेश श्रेष्ठ, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बिनु रायमाझी पौडेल र युवा तथा खेलकुद मन्त्रालयमा उर्मिला केसी नेपाललाई नियुक्त गरेका हुन्।

मुख्यमन्त्री बानियाँ साउन २० गते नियुक्त भएपछि सोही दिन एमालेका ६ र कांग्रेसका २ मन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उक्त दिन कांग्रेसका कृष्ण तामाङले खानेपानी, उर्जा तथा सिंचाइँ मन्त्रालय र शिवराज अधिकारीले बिना विभागीय मन्त्रीको जिम्मेवारी पाएका थिए। कांग्रेसभित्र भएको मन्त्रालय भागबन्डा अनुसार, अधिकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसैगरी, साउन २० गते नै नेकपा एमालेबाट सरकारमा नेतृत्व गर्दै कृषि तथा पशुपन्छी विकासमा मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकासमा डा. दिनेशचन्द्र देवकोटा, वन तथा वातावरणमा भरत केसी, श्रम, रोजगार तथा यातायातमा जयराथ थापा, र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा बिन्दु श्रेष्ठलाई जिम्मेवारी दिइएको थियो।

यसअघि, कांग्रेसका नेता बहादुरसिंह लामा पक्षका तीन सांसद गोविन्द लम्साल, माया श्रेष्ठ, र गीता गुरुङलाई मन्त्री बनाउने सहमति भएको थियो। यही सहमतिका आधारमा उनीहरूले साउन २७ गतेको प्रदेशसभा बैठकमा उपस्थित भई मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ