गलकोट (बागलुङ)। वर्षायाममा नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि बागलुङ र पर्वत भएर बग्ने कालीगण्डकी नदीमा अवैध दोहन भइरहेको छ। असारदेखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ निकाल्न नपाइने भए पनि दर्जनौं स्थानमा रातिको समयमा समेत बालुवा र गिटी उत्खनन भइरहेको छ।
शनिबार राति सहस्रधाराको भाटेखोला बगरमा एउटा स्काभेटरले बालुवा निकालिरहेको र पाँचवटा टिपरले ढुवानी गरिरहेको देखिएको थियो। कालीगण्डकी बचाउ अभियानका संयोजक आरके अदिप्त गिरीका अनुसार, बागलुङको दब्ल्याङ, भाटेखोला, र कालाखोला बगरलगायतका क्षेत्रमा नदी दोहन भइरहेको छ।
अवैध दोहनका कारण शालग्राम शिलासमेत संकटमा परेको गिरीले बताएका छन्। उनले नदी दोहन भइरहेको विषयमा स्थानीय तह, प्रशासन र जिल्ला समन्वय समितिले एकअर्कालाई दोष दिएर पन्छिने गरेको आरोप लगाए। गिरीले प्रहरी प्रशासनको मिलेमतोबिना दोहन सम्भव नभएको र प्रहरी चौकी नजिकै पनि अवैध उत्खनन भइरहेको बताए।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक तिलक भारतीले नदीजन्य पदार्थको सुरक्षाका लागि प्रहरी परिचालन भए पनि दोहन रोक्न नसकेको स्वीकार गरेका छन्। उनले स्थानीय तहले ठेक्का लगाउन नसक्दा राजस्व गुम्ने डरले यस्तो भइरहेको बताए र अब सादा पोसाकमा प्रहरी परिचालन गर्ने योजना रहेको जानकारी दिए।
नियमविपरीत नदीको बीच भागबाटै दोहन गर्दा बागलुङ नगरपालिका-१ स्थित माझी बस्ती, मालढुङ्गा र कालाखोला बगरका घरहरू बाढीको उच्च जोखिममा परेका छन्। ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ अनुसार नदी किनारबाट ५०० मिटर टाढा मात्रै उत्खनन गर्न पाइने भए पनि त्यसको पालना भएको छैन।
गिरीले कालीगण्डकी सभ्यताको संरक्षणका लागि सबैले राज्य तहमा दबाब दिनुपर्नेमा जोड दिएका छन्।