काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ । बुधबार बिहान गृहमन्त्रालयमा भएको भेटमा मोरिससका पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया र पछिल्लो राजनीतिक घटनाबारे चासो राखेका थिए । मेड्रिड क्लवका उपाध्यक्ष समेत रहेका उत्तिमले नेपालको शान्ति प्रक्रियाको अनुभव अन्तर्राष्ट्रिय समुदायका लागि समेत उदाहरणीय र उपयोगी भएको बताए ।
सो अबसरमा उपप्रधान एवं गहृमन्त्री निधिले नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगका लागि धन्यवाद दिदैं नेपालको पछिल्लो राजनीतिक परिबर्तनलाई संस्थागत गर्नका लागि संविधान कार्यान्वयनको अन्तिम चरणमा रहेको उल्लेख गरे।
यसैबीच, गृहमन्त्री निधि र नेपालका लागि कतारका राजदूत यूसुफ बीन मोहम्मद अल हेलबीच बुधबार बिहान गृहमन्त्रालयमा भेटघाट भएको छ । भेटमा द्धिपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको थियो । उनले सन् २०२२ मा कतारमा हुने बिश्वकपको तयारीका सिलसिलामा नेपाली कामदारको योगदानको चर्चा गरेका थिए । सो अबसरमा गृहमन्त्री निधिले नेपालबाट भोलिका दिनमा दक्ष जनशक्तिलाई रोजगारीको अबसर सिर्जना गर्ने बिषयमा कतार सरकारको ध्यानाकर्षण गराएका थिए ।
आजै, गृहमन्त्री निधि र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरबीच भेटबार्ता भएको छ । भेटमा नेपाल–इजरायल सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भएको थियो । त्यस अबसरमा गृहमन्त्री निधिले इजरायल सरकारले हरेक बर्ष नेपाली विद्यार्थीलाई कृषि सम्बन्धी अध्ययनका लागि अबसर दिएकोमा धन्यबाद दिदैं आगामी दिनमा अन्य क्षेत्रमा पनि अनुभब आदानप्रदानको वातावरण बनाउनु पर्नेमा ध्यानाकर्षण गराएका थिए ।