arrow

ताप्लेजुङको ‘लामपोखरी’ पर्यटकको पर्खाइमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
lamapokhari.jpg

फुङ्लिङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको लामपोखरी मनमोहक प्राकृतिक सौन्दर्यले भरिएको भए पनि पर्यटकको पर्खाइमा छ। लोदेन फाँटमा अवस्थित यो पोखरी यस क्षेत्रकै प्रमुख आकर्षणमध्ये एक हो।

लामपोखरी हरियाली घाँसेमैदानको बीचमा रहेको यस क्षेत्रकै ठूलो पोखरी हो। स्थानीय शेर्पा समुदायले यसलाई छोनासिङ पोखरी पनि भन्छन् र यसको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व रहेको मानिन्छ। पोखरीको अण्डाकार स्वरूप र वरिपरिको हरियाली दृश्यले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउँछ। पर्यटकहरू यहाँ आएर शान्तिको अनुभूति लिने र तस्बिर खिचेर फर्कने गरेको स्थानीय बासिन्दाहरू बताउँछन्।

ताप्लेजुङमा कञ्चजङ्घा हिमाल, पाथीभरा मन्दिरजस्ता प्रमुख पर्यटकीय गन्तव्यहरू भए पनि लोदेन क्षेत्रका हरियाली फाँट र पोखरीहरू पनि अवलोकनका लागि उत्कृष्ट मानिन्छन्।

यति सुन्दर भए पनि यो पोखरीको अहिलेसम्म कुनै अध्ययन वा अनुसन्धान भएको छैन। लामपोखरीको प्रचारप्रसार र प्रवर्द्धनका लागि सरोकारवालाहरूले खासै योजना बनाएको देखिँदैन।

यो क्षेत्र उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले यहाँ मानव बस्ती छैन। त्यसैले पर्यटकहरूलाई बस्नका लागि याकगोठ र भेडीगोठ को भर पर्नुपर्छ। केही ठाउँमा धर्मशाला पाटीहरू बनाइएका छन्, तर पर्यटकले खाद्य सामग्री आफैंले लैजानुपर्छ।उच्च हिमाली क्षेत्र भएकाले लेक लाग्नेजस्ता समस्या पनि हुन सक्छ।

पछिल्लो समय गाउँपालिकाले यस क्षेत्रको प्रवर्द्धनमा चासो देखाउँदै चालू आर्थिक वर्षमा प्रचारप्रसारका लागि बजेट विनियोजन गरेको छ, जसले आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ