arrow

भेडी गोठालाको गुनासो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
vedi-gothalo.jpg

ढोरपाटन (बागलुङ)। बागलुङको निसीखोला गाउँपालिका–६ का टेकध्वज घतान विगत ५० वर्षभन्दा बढी समयदेखि भेडी गोठालोको जीवन बिताइरहेका छन्। समुद्री सतहबाट ४ हजार २०० मिटरको उचाइमा रहेको टीकाधाराको बुकीपाटनमा भेटिएका ६४ वर्षीय घतानले सरकारले अहिलेसम्म आफूहरूलाई कुनै सहयोग नगरेको गुनासो पोखेका छन्। उनले भने, “यस्तो जाडो छ, सरकारले गोठालालाई एउटा न्यानो ज्याकेट दिए पनि लाउँदा हुँ, गोठको अवस्था यस्तो छ, गतिलो त्रिपाल दिए पनि हुन्थ्यो।”

जेठको अन्तिम साता करिब २०० भेडाका बथान लिएर टीकाधारा पुगेका घतानको दिनचर्या भेडा दुहुने र घाँस काट्दै बित्छ। उनीसँगै रुकुमका सत्यराम विश्वकर्मा र रोल्पाका तीर्थबहादुर घर्ती सहित सात जनाको समूह एउटै गोठमा बस्छन्। यी सात जनाको करिब पाँच हजार भेडाले टीकाधाराको खर्क ढाकिएको छ।

घतानले बाबुबाजेदेखि यही पेसा अँगालेको र अहिलेसम्म यसैबाट परिवार चलाएको बताए। उनले विभिन्न समयमा सरकारी कर्मचारीहरूले नाम टिपेर लगे पनि कुनै सहयोग नपाएकोमा दुःख व्यक्त गरे। उनी भन्छन्, "समाचारमा सरकारले किसानलाई अनुदान दिन्छ भन्छन्, तर हामीले अहिलेसम्म केही पनि पाएनौँ।"

रुकुमपूर्वका सत्यराम विश्वकर्माले पनि राज्यले गोठ निर्माणका लागि चाहिने सामग्री जस्तै एउटा गतिलो त्रिपाल वा रातिमा बाल्ने सोलार दिएमा पनि आफूहरूलाई ठूलो टेवा पुग्ने बताए।

पछिल्लो समय पर्यटकहरूको चहलपहल बढ्न थालेपछि गोठालाहरूले नयाँ समस्याको सामना गर्नुपरेको छ। भेडी गोठाला लेकबहादुर विकका अनुसार, घुम्न आएका पर्यटकहरूले भेडाको बथानमा छिरेर नाच्ने र चिच्याउने गर्दा भेडाहरू डराएर भाग्छन्। यसले गर्दा भागेका भेडाहरूलाई जम्मा गर्न धेरै समय लाग्ने गरेको र पर्यटकहरूलाई रोक्न खोज्दा उल्टै गाली गर्ने गरेको उनको गुनासो छ।

बुकीपाटनका भेडीगोठहरू अब असोज लागेपछि मात्रै बेँसी झर्नेछन्। यहाँ बागलुङसँगै रोल्पा, रुकुम, म्याग्दी र डोल्पाबाट समेत गोठालाहरू भेडा लिएर आएका छन्। ती सबैको पीडा र गुनासो भने एउटै छ— सरकारको सहयोग नहुनु।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ