काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कानुन निर्माण गर्दा सेवा स्तरलाई सुधार गर्नेगरी बनाइनुपर्ने बताएका छन्। मंगलबार सिंहदरबारमा बसेको संसदीय समितिको बैठकमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल भएको थियो।
सांसद सापकोटाले विमानस्थल सुधारका लागि कानुनहरू बनाइँदा संस्थागत सुधार र सेवा स्तरको सुधारमा विशेष जोड दिनुपर्ने बताए। उनले अलग-अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर पुरानै भएको खण्डमा छुट्टै संरचनाको महत्त्व नरहने उल्लेख गरे।
उनले भने, "यसको संस्थागत सुधारका बारेमा हामी कति स्पष्ट छौँ, हामीले कति जोड दिएर काम गर्ने हो यसमा स्पष्ट हुनुपर्छ। सेवाको स्तर कसरी सुधार गर्ने? अलग-अलग संरचनाको परिकल्पना गर्ने तर सेवाको स्तर उही भयो भने अहिले हामी जुन ढंगले जान खोजेका छौँ, यसको उपादेयिता रहँदैन। सेवाको स्तरलाई सुधार गर्नेगरी कानुनहरू बढी फलदायी हुनुपर्छ।"
सांसद सापकोटाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) लगायतका अन्तर्राष्ट्रिय स्तरबाट नेपाललाई जुन प्रकारको व्यवधान छ, त्यसलाई यो कानुनले कसरी हल गर्छ भन्ने विषयमा पनि सोच्नुपर्ने बताए। उनले नेपाललाई कालोसूचीबाट हटाउन यो कानुनले योगदान गर्छ कि गर्दैन भन्नेमा ध्यान दिनुपर्नेमा जोड दिए। साथै, यो कानुनले निजी क्षेत्र र वैदेशिक लगानीलाई आकर्षित गर्दै अघि बढ्न सक्नुपर्ने पनि उनको भनाइ थियो।
समग्रमा, सांसद सापकोटाले अन्तर्राष्ट्रिय स्तरलाई विश्वासमा लिनेगरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।