सरकारद्वारा नयाँ पर्यटन नीति सार्वजनिक: नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्य बनाउने लक्ष्य [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
728
Shares
काठमाडौं । सरकारले मुलुकको पर्यटन क्षेत्रको समग्र विकास तथा प्रवर्द्धनका लागि नयाँ पर्यटन नीति सार्वजनिक गरेको छ। सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित कार्यक्रमकाबीच मन्त्री बद्रीप्रसाद पाण्डेले यो नीति सार्वजनिक गरेका हुन्।
मन्त्री पाण्डेले नीति सार्वजनिक गर्दै नेपाललाई अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न यो नीति महत्त्वपूर्ण हुने बताए। उनले नीतिको कार्यान्वयनको समयमा देखिएका समस्या र छुटेका विषयहरू समेत नीतिमा समावेश गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री पाण्डेले नीति कार्यान्वयनका लागि कार्यनीति र रणनीति निर्माणको प्रक्रिया पनि अघि बढिरहेको जानकारी दिए। उनले सङ्घीयतालाई थप प्रभावकारी बनाउन समन्वय परिषद् समेत गठन गरिएको उल्लेख गर्दै विभिन्न ठाउँमा गरी तीनवटा बैठक सम्पन्न भइसकेको पनि बताए। नीतिमार्फत नेपाललाई सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान दिलाउने लक्ष्य लिएको उनको भनाइ छ।
"मुलुकमा सुशासन कायम होस् भन्ने हिसाबले नै नीति ल्याउने हो। राम्रो नीति बनाउने हो। यस नीतिमा अझै पनि केही कुरा छुटेको हुनसक्छ। त्यसका लागि पनि हामी सबै सचेत छौँ," मन्त्री पाण्डेले भने, "नीतिमा छुटेका कुराहरूलाई आगामी दिनमा मिलाउने अधिकार हामीलाई छँदैछ। तर अहिलेको लागि हामी सबैको लागि खुसीको कुरा भनेको हामीले नीति प्राप्त गरेका छौँ। अद्वितीय पर्यटकीय गन्तव्यका रूपमा नेपाललाई चिनाउनको लागि पनि नीतिले महत्त्वपूर्ण भूमिका खेल्ने छ। पर्यटकीय हिसाबले र सांस्कृतिक हिसाबले पनि नेपालबाहिर दोस्रो त्यस्तो ठाउँ छैन। त्यसको कार्यान्वयनको लागि कार्यनीति र रणनीति बनाउने कामहरू समेत भइरहेको छ। सङ्घीयतालाई अझै प्रभावकारी बनाउनको लागि हामीले समन्वय परिषद् गठन भएको छ।"
मन्त्रालय मातहतका निकायहरूलाई मर्ज गर्ने मन्त्रिपरिषद्को निर्णयले ऐन निर्माणमा केही समस्या भएको पनि मन्त्री पाण्डेले बताए। उनले सबै निकायका लागि विशिष्टीकृत ऐन निर्माणमा मन्त्रालय सक्रिय रहेको जानकारी दिए। भैरहवा विमानस्थलमार्फत बौद्ध धर्मावलम्बी भएका देशहरूमा सीधा उडान होस् भन्ने धेरैको चाहना भएको उल्लेख गर्दै उनले सोहीअनुसार कार्ययोजना बनाइरहेको पनि बताए।