बागमती प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव: एमालेद्वारा कांग्रेसलाई चाँडो टुङ्गोमा पुग्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
901
Shares
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (नेपाली कांग्रेस संसदीय दलका नेता) विरुद्ध उनकै पार्टीका सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा एमालेले यस विषयमा छिटो निष्कर्षमा पुग्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ। मुख्यमन्त्री लामाविरुद्धको प्रस्तावमा २१ जना सांसदले हस्ताक्षर गरेका छन्, जसको नेतृत्व कांग्रेस सांसद इन्द्र बानियाँ ले गरेका छन्। यद्यपि, मुख्यमन्त्री लामाले अविश्वासको प्रस्तावको सामना गर्ने बताइसकेका छन्।
नेकपा एमालेका बागमती प्रदेशसभा संसदीय दलका नेता जगन्नाथ थपलियाले यो नेपाली कांग्रेसभित्रको नितान्त आन्तरिक मामिला भएकाले एमालेले कुनै सल्लाह दिने वा हस्तक्षेप गर्ने काम नगर्ने स्पष्ट पारेका छन्। उनले प्रदेश सरकारमाथि प्रश्न उठिरहेको बेलामा प्रदेश सरकारलाई अझ अस्थिर बनाउनु नहुने एमालेको सुझाव रहेको बताए।
उनले भने, "बागमती प्रदेशको मुख्यमन्त्रीज्यूको विषयमा नेपाली कांग्रेसका सांसदहरूबाटै अविश्वासको प्रस्ताव दर्ता भएको कुरा छ। यो उहाँहरूको नितान्त पार्टीभित्रको समस्या भएकाले पार्टीको चासो हो। हामीले त्यति ध्यान दिएका छैनौँ। अन्य पार्टीको आन्तरिक मामिलामा चासो राखिराख्न हामीलाई आवश्यक छैन। नितान्त उहाँहरूको विषय हो। जे गर्ने हो छिटो टुङ्ग्याउनुस् भन्ने हो।"
थपलियाले थपे, "त्यो नहुनुपर्दथ्यो। सरकारलाई अस्थिरतामा राख्नु हुँदैन, विकासका काममा यसले अवरोध गर्दछ। प्रदेश सरकार अस्थिर भयो, विकासका कामहरू नहुने भए भन्ने प्रश्न छ। यस्तो कुरा आउनु ठिक होइन। चाँडोभन्दा चाँडो समस्या समाधान हुनुपर्छ। हाम्रो प्रत्यक्ष कुनै हस्तक्षेप, सल्लाह केही पनि हुँदैन।"
मुख्यमन्त्री लामा नेतृत्वको सरकारले आव २०८२/८३ का लागि ल्याएको बजेटमा कांग्रेसभित्र चर्को विवाद भएको थियो। बजेट विवाद उत्कर्षमा पुग्दा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेको जनाइएको छ।