बागलुङको कालभैरव मन्दिरमा आम्दानी तेब्बर, पूर्वाधार निर्माणमा तीव्रता
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
659
Shares
गलकोट (बागलुङ) । सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणले गति लिएको छ भने आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ। धार्मिक शक्तिपीठमध्येको एक मानिने यस मन्दिरमा भेटी सङ्कलन तेब्बरले बढेको छ।
बागलुङ नगरपालिका–१२ मा रहेको कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी व्यवस्थापन समिति सक्रिय भएपछि पूर्वाधार निर्माणले तीव्रता पाएको थियो। यससँगै मन्दिरमा आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएसँगै भेटी सङ्कलन दरसमेत तेब्बरले बढेको हो। भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले समितिमार्फत पूजा चलाउन थालेको एक वर्षमा आम्दानी तेब्बरले वृद्धि भएको बताए।
मालपोत कार्यालय बागलुङद्वारा ठेक्कामा भेटी सङ्कलन गरिँदै आएकामा आर्थिक वर्ष २०८१/८२ देखि गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि आम्दानीमा यो वृद्धि भएको हो। अध्यक्ष ढकालले भने, "आव २०८०/८१ मा ठेक्कामार्फत ९ लाख रुपैयाँ आम्दानी भएकामा समितिमार्फत पूजा चलाउँदा २७ लाख रुपैयाँ आम्दानी भएको छ। ठेकेदारले नाफा कमाउँदा मन्दिर अस्तव्यस्त भएकाले समितिमार्फत पूजा चलाउने र आम्दानीले भौतिक संरचना तथा दर्शनार्थीको सुविधा थप गर्ने हाम्रो उद्देश्य छ।" उनले कोरोना महामारीमा ५० हजार रुपैयाँ मात्र भेटी सङ्कलन भएकोमा अहिले २७ लाख रुपैयाँ सङ्कलन भएको र आगामी वर्ष सङ्कलन अझै बढ्ने अपेक्षा रहेको बताए।
पछिल्लो दुई वर्षयता बलेवा कालभैरवको पूर्वाधारमा सत्तल, सचिवालय, प्रवेशद्वार, पदमार्ग, खानेपानी, शौचालयलगायत निर्माणमा ८० लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको ढकालले जानकारी दिए। समिति, सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाबाट पूर्वाधार निर्माणमा सहयोग प्राप्त भएको समितिका कोषाध्यक्ष चन्द्र केसीले बताए। उनले अघिल्लो व्यवस्थापन समितिले बनाएको गुरुयोजना र हिसाब किताब नपाएको तथा समिति नहुँदा मन्दिरको अवस्था बिग्रिएकाले यो वर्षदेखि आय-व्यय सार्वजनिक तथा लेखा परीक्षण गराउँदै आएको जानकारी दिए।
समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटर निर्माण गरेपछि आगामी वर्षबाट मन्दिरको मासिक आम्दानी पनि भइरहेको छ। अहिले मासिक ३० हजार रुपैयाँमा सटरहरू भाडामा लगाइएका छन्। समुद्री सतहबाट १,४०० मिटरको उचाइमा रहेको भैरवस्थानको मुख्य मन्दिर भने पुरानो छ। गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधार निर्माणले गति लिएको छ भने वर्षौंदेखिको ठेक्का तोडेर समितिले आम्दानी लिन थालेको छ।
करिब तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ। बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ। कालभैरव मन्दिरको प्रचारप्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नति, पदमार्ग, व्यावसायिक सटर, सत्तललगायत पूर्वाधार थपिँदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढेको र भेटी सङ्कलनसमेत बढिरहेको ढकालको भनाइ छ।
विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ। मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको पाइन्छ। पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइमाझ झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ। मनोकांक्षा पूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्या बढ्दै गइरहेको छ।