बागलुङका करिब छ हजार घर बाढीपहिरोको जोखिममा, सावधानी अपनाउन सुझाव
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ६ मंगलबार
621
Shares
बागलुङ । बागलुङ जिल्लामा हरेक वर्ष वर्षातको समयमा बाढीपहिरोले ठूलो धनजनको क्षति हुने गरेको छ। यस वर्ष पनि मनसुन सुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको छ।
यस वर्षको मनसुनमा जिल्लाभर ५ हजार ८७२ घर बाढीपहिरोको जोखिममा रहेका छन्। जोखिममा रहेका बस्ती तथा घरमा बस्दा सावधानी अपनाउन विपद् व्यवस्थापन समितिले सुझाव दिएको छ। बागलुङका अधिकांश बस्ती खोला किनार र भिरालो जमिनमा रहेकाले वर्षातमा बाढीपहिरोको जोखिममा पर्ने गरेका छन्।
जिल्लामा सबैभन्दा बढी जोखिममा निसीखोला गाउँपालिका रहेको छ, जहाँ २ हजार ४३८ घर बाढीपहिरोको जोखिममा रहेको समितिले जनाएको छ। सबैभन्दा कम जोखिमयुक्त घर भने जैमिनी नगरपालिकामा छन्, जहाँ १६ घर जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले बताएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार, बागलुङ नगरपालिकामा १ हजार ५५४, ढोरपाटन नगरपालिकामा ३९०, गलकोट नगरपालिकामा १२५, बरेङ गाउँपालिकामा २१०, बडिगाड गाउँपालिकामा १६०, तमानखोला गाउँपालिकामा ११५, ताराखोला गाउँपालिकामा १४४ र काठेखोला गाउँपालिकामा ७२० घर बाढीपहिरोको जोखिममा रहेका छन्। घरसँगै विद्यालय, सिँचाइ कुलो, विद्युत् गृह र सयौँ रोपनी खेतीयोग्य जमिन पनि जोखिममा रहेको उनले बताए।
पौडेलले वर्षातको समयमा जोखिम रहेका घर तथा बस्तीमा जतिबेला पनि बाढीपहिरो आउन सक्ने भएकाले सबै नागरिक सचेत हुन र जोखिम मोलेर नबस्न आग्रह गरेका छन्। उनले विगतमा बाढीपहिरोबाट धेरैले ज्यान गुमाएको स्मरण गराउँदै वर्षा हुँदा सुरक्षित स्थानमा गएर बस्नुको विकल्प नभएको बताएका छन्।
निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले वडा नं. १ को हुल्दी क्षेत्रमा सबैभन्दा बढी घर पहिरोको जोखिममा रहेकाले बस्ती अन्यत्र सार्नुपर्ने अवस्था रहेको बताएका छन्। उनले एकीकृत बस्ती निर्माण गरी स्थानीयलाई पुनःस्थापित गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने बताए।
विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरिरहेको भन्दै राहत र उद्धारका लागि ‘विपद् व्यवस्थापन कोष’ बनाइएको पुन मगरले जानकारी दिएका छन्। "निसीखोलाका अधिकांश ठाउँ र सयौँ घर जोखिममा छन्। पालिकाको सीमित स्रोतसाधनले बस्ती स्थानान्तरण नभ्याउने हुँदा माथिल्लो तहका सरकारसँग सहकार्य गर्नुपर्छ," उनले भने, "अहिले विपद्बाट नागरिकलाई जोगाउन सचेतना फैलाउने काम भइरहेको छ। त्योबाहेक विपद्मा परेकालाई राहत तथा पुनःस्थापनाका लागि ३० लाख रुपैयाँको कोष बनाएका छौँ, उद्धारलाई प्रभावकारी बनाउन निसीखोलाका तीनवटै चौकीलाई उद्धार सामग्री हस्तान्तरण गरेका छौँ।"