राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक काममा मन्त्रालयले हस्तक्षेप गर्दैन: मन्त्री पन्त
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
2k
Shares
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिक गतिविधिहरूमा मन्त्रालयले कुनै हस्तक्षेप नगर्ने बताएका छन्। सिंहदरबारमा आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा 'राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१' माथि भएको दफावार छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री पन्तले यस्तो स्पष्ट पारेका हुन्।
मन्त्री पन्तले प्रयोगशालामा गरिने सबै लगानी नेपाल सरकारले गर्ने र यसले नेपाल सरकारसँग सम्बन्धित विभिन्न निकायहरूको काम पनि गर्ने बताए। उनले विधेयकमा प्रस्तुत कुरा ठीक रहेको भन्दै प्रयोगशालाको संरचना सातवटै प्रदेशमा बनाउने प्रस्ताव रहेको जानकारी दिए। तर, यसको संरचना रातारात बनाउन भने नसकिने स्पष्ट पार्दै, यो महँगो संरचना हुने भएकाले समय लाग्ने बताए।
समितिको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद बेदुराम भुसालले भने प्रयोगशालालाई आफूले काम गर्ने नाममा खुला छोड्न नहुने धारणा राखे। उनले 'तोकिएबमोजिम हुने' भन्ने प्रावधानहरू राख्दा कार्यकारी व्यक्तिले आफू अनुकूल निर्णय गर्ने अवस्था आउन दिनु नहुनेमा जोड दिए। भुसालले भने, "खुला छोड्ने कुरा अबको समयमा हुँदैन। पहिलाको राणाकालीन पालादेखि गरिआएको तोकिएबमोजिम गर्ने, आफूलाई के मन लाग्छ पछि कार्यकारीले गर्ने अवस्था अब छैन। अहिले हामीले जति पनि ऐन बनाइरहेका छौँ, ती सबै ऐनमा यसै किसिमले गएका छौँ।"
समितिको बैठकमा अन्य सांसदहरूले पनि भविष्यको अनुसन्धानमा तुलनात्मक अध्ययन पर्न सक्ने कुरालाई मध्यनजर गरेर विधेयक अघि बढाउनुपर्ने बताएका थिए। उनीहरूले नयाँ प्रविधि र विधिहरूबाट पुरानो अभिलेखहरूको संरक्षण गर्न अति आवश्यक हुने धारणा पनि राखेका छन्।