arrow

ब्राजिलका राष्ट्रपति लुलाद्वारा अमेरिकी भिसा प्रतिबन्धको आलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
lula-da-silva-brazil-president.jpg

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पूर्वराष्ट्रपति जायर बोल्सोनारोविरुद्धको ’कू’ मुद्दामा न्यायाधीशमाथि लगाइएको अमेरिकी भिसा प्रतिबन्धको कडा आलोचना गरेका छन्। उनले यसलाई एक देशको न्याय प्रणालीमा अर्को देशको अस्वीकार्य हस्तक्षेप बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने बोल्सोनारोविरुद्धको ’कू’ मुद्दामा सुनुवाइ गरेका सर्वोच्च सङ्घीय अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले शुक्रबार बोल्सोनारोले ’इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस’ लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएका थिए।

यसको केही घण्टापछि, संयुक्त राज्य अमेरिकाले मोरेस र उनका ’सहयोगी’ तथा उनीहरूका परिवारका सदस्यहरूको भिसा रद्द गरेको थियो।

राष्ट्रपति लुलाले एक्स (पहिले ट्विटर) मा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेका छन्, "मेरो ऐक्यबद्धता र समर्थन सर्वोच्च सङ्घीय अदालतका न्यायाधीशहरूप्रति रहन्छ। उहाँ अमेरिकी सरकारको अर्को स्वेच्छाचारी र पूर्णतया आधारहीन कदमबाट प्रभावित हुनुभएको छैन।"

लुलाले अगाडि थपे, "एक देशको न्याय प्रणालीमा अर्को हस्तक्षेप अस्वीकार्य छ र यसले राष्ट्रहरूबीचको सम्मान र सार्वभौमिकताको आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गर्दछ।"

बोल्सोनारोमाथि सन् २०२२ मा लुलाले जितेको चुनाव उल्टाएर सत्तामा टिकिरहन खोजेको आरोप लागेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमा भनेका छन्, "ब्राजिलको सर्वोच्च सङ्घीय अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले जायर बोल्सोनारोविरुद्ध गरेको ’राजनीतिक पूर्वाग्रहपूर्ण’ उत्पीडन र सेन्सरसिपले जटिलता सिर्जना गरेको छ। यसले ब्राजिलियालीहरूको आधारभूत अधिकारको उल्लङ्घन मात्र गरेको छैन, अमेरिकीहरूलाई लक्षित गर्न ब्राजिलको सीमाभन्दा बाहिर पनि फैलिएको छ।"

ट्रम्प र बोल्सोनारो दुवैले आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी गर्दै आएका छन् र बोल्सोनारोले आफ्नो फैसलालाई लिएर न्यायाधीशहरूमाथि बारम्बार मौखिक आक्रमण गर्ने गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ