सुनकोसी-मरिन डाइभर्सनको अध्ययन र अनुगमनका लागि उपसमिति गठन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
676
Shares
काठमाडौँ। पूर्वाधार विकास समितिले सुनकोसी–मरिन डाइभर्सन आयोजनाको विस्तृत अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेस गर्न सात सदस्यीय उपसमिति गठन गरेको छ।
सांसद प्रकाश ज्वालाको संयोजकत्वमा दलीय प्रतिनिधित्व हुनेगरी गठित यस उपसमितिमा सदस्यका रूपमा सिता गुरुङ, ठाकुर गैरे, माधव सापकोटा, बिना लामा, निशा डाँगी, र सुशीला श्रेष्ठ रहेका छन्। पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले यो जानकारी दिए।
समितिले सुनकोसी–मरिन डाइभर्सन आयोजनाको कार्यप्रगति सम्बन्धमा आवश्यक स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन गर्नेछ। आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि निर्माण व्यवसायी, स्थानीय, इन्जिनियर, कन्सल्टेन्ट लगायतका निकाय र सरोकारवालाहरूसँग परामर्श गरी दुई महिनाभित्र समिति समक्ष प्रतिवेदन पेस गर्नेछ।
तराई–मधेसका कुल १ लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको सुनकोसी–मरिन डाइभर्सनको काम सन्तोषजनक रूपमा अघि नबढेको भन्दै सांसदहरूले चिन्ता व्यक्त गरेका छन्। सुनकोसीको करिब ७६ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसाल्ने र सिँचाइसहित ३१ मेगावाट विद्युत उत्पादन गर्ने उक्त आयोजना २०८४ को असोजसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि काम अपेक्षित रूपमा अघि बढ्न सकेको छैन।