आयुर्वेद चिकित्सामा बढ्दो आकर्षण: बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
562
Shares
गलकोट (बागलुङ)। बदलिँदो जीवनशैली र अस्वस्थकर खानपानका कारण स्वास्थ्य समस्या बढिरहेका बेला पछिल्लो समय आयुर्वेद चिकित्सातर्फ मानिसको चासो बढ्न थालेको देखिएको छ। धौलागिरि आयुर्वेद अस्पताल बागलुङमा उपचारका लागि आउने बिरामीको सङ्ख्याले यो कुरा पुष्टि गरेको छ।
पछिल्लो तथ्याङ्कअनुसार, धौलागिरि आयुर्वेद अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा अस्पतालमा ११ हजार ४५५ बिरामीले सेवा लिएका थिए भने आर्थिक वर्ष २०८१/८२ मा यो सङ्ख्या बढेर १७ हजार ५४८ पुगेको छ। धौलागिरि आयुर्वेद अस्पतालका प्रमुख डा. शरद् पन्थीका अनुसार, जिल्लाभर रहेका नौवटा आयुर्वेद सेवा केन्द्र र आयुर्वेद अस्पतालमा गरी कुल बिरामीको सङ्ख्या आव २०८०/८१ मा ३० हजार ४७८ रहेकोमा आव २०८१/८२ मा ३६ हजार ४९५ पुगेको छ। यो वृद्धिले आयुर्वेद शिक्षा बढाउन आवश्यक रहेको देखाएको छ।
डा. पन्थीका अनुसार, आयुर्वेद शिक्षाका लागि नागरिक आरोग्य अभियान चलाइएको, आयुर्वेद अस्पतालमा तीन जना डाक्टरले सेवा दिइरहेको र आयुर्वेद औषधि उपचारमा नागरिकको भरोसा बढ्दै गएका कारण बिरामीको सङ्ख्यामा वृद्धि भएको हो।
उनी भन्छन्, "हामीले अपनाएको खानपान र जीवनशैलीले गर्दा धेरै रोगको निम्त्याइरहेका छौँ। खानपान र जीवनशैलीमा सुधार ल्याउन सकेको खण्डमा आफूलाई स्वस्थ बनाउन सक्छौँ। शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्वको मात्रा हेरेर खानपान गर्न सकेमा स्वस्थ बलियो हुन्छ, आयुर्वेद उपचार पद्धति रोगको जरासम्म पुग्ने उपचार पद्धति रहेकाले नागरिकको भरोसा बढ्दै गएको छ।"
गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख रमेश केसीले पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले आयुर्वेदको मर्मअनुसार जीवनशैली अपनाउन आवश्यक रहेको बताए। "सन् १९९० मा सर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढी थियो, पछिल्लो समय नसर्ने रोगका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको छ," उनले भने, "स्वस्थ र अग्र्यानिक खानेकुरा खाने र नियमित शारीरिक व्यायामले नसर्ने रोगबाट बचाउन सकिन्छ। आयुर्वेदले यसका लागि सहयोगी भूमिका खेल्छ।"
डा. पन्थीले बदलिँदो अवस्थाअनुसार विभिन्न रोगव्याधि बढ्दै गएको अवस्थामा आयुर्वेद उपचारको उपयोगिता बढ्दै गएको, तर प्रचारप्रसारको अभावमा अझै व्यापकता पाउन नसकेको बताए। उनी भन्छन्, "आयुर्वेदको महत्त्व र फाइदा धेरै छ, तर यसको पर्याप्त प्रचार हुनसकेको छैन। त्यसैले यसको उपयोगिताबारे व्यापक प्रचारको आवश्यकता छ।"