विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको अल्टिमेटम [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
883
Shares
काठमाडौँ। संसदीय समितिले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको अल्टिमेटम दिएको छ। आइतबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले समितिको तर्फबाट पाँच दिनभित्र सहमति जुटाएर आउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई निर्देशन दिएका हुन्।
सभापति थापाले सरकारले संसदीय समितिलाई खेलौनाजस्तो बनाएको आरोप लगाए। बैठकमा यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन थप समय माग गरेका थिए।
थापाले भने, "तपाईंहरूले यो समिति कस्तो गर्नुभएको छ भने खेलौनाजस्तो बनाउनुभएको छ। कहिले बैठक बोलाऊ, कहिले बैठक स्थगित गर। यो कति पटकसम्म? अब अन्तिम समय हो। तपाईं अनिश्चित नभन्नुस् फेरि। सरकारले कति दिनभित्र सहमति गरेर आउने हो समितिलाई समय उपलब्ध गराओस्। थप विषय लिएर आउने होइन फेरि यही विषयमा सहमति गरेर कति दिनमा आउने हो? मन्त्रीज्यूले भनिदिनुपर्यो।"
उनले सरकारले संसदीय समिति र सांसदहरूको विचारलाई नसुन्ने प्रवृत्ति देखाएकोमा आगामी दिनहरूमा हेक्का राख्न चेतावनीसमेत दिए। शिक्षक महासङ्घसँग वार्ता जारी रहेको भन्दै शिक्षामन्त्री पन्तले गत असार १६ गतेदेखि समय माग्दै आएका छन्।