कांग्रेस बैठकमा जापान जाने श्रमिकको विषय प्रवेश, स्नेही भन्छन्–रविका मान्छेहरु मिसिएर अर्बौँ लुटे
हाम्रा कुरा
प्रकाशित २०८२ असार २२ आइतबार
3.5k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले जापान जाने प्रशिक्षार्थी कामदारमाथि शोषण भएको विषयलाई गम्भीरपूर्वक लिन नेतृत्वलाई आग्रह गरेका छन् ।
पार्टीको बीपीनगर सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै स्नेहीले विगत १५ वर्षदेखि जापान जाने प्रशिक्षार्थी कामदारलाई भिसा प्राप्त भइसकेपछि भाषा परीक्षा लिने नाममा जापान जान रोकिँदै आएको बताए ।
उनले भिसा प्रात्त भैसकेपछि श्रम स्वीकृति दिनुअघि वैदेशिक रोजगार विभागले नेपाल तथा जापानको संस्थाले कानूनी रूपमै नचिनेको संस्था जाइका अल्मुनाइ एसोसिएसन नेपाल 'जान'लाई भाषा परीक्षा लिने अनधिकृत संस्था खडा गरिएको बताए ।
नेता स्नेहीले यही जान भन्ने संस्थाले भाषा परीक्षा लिने नाममा सिन्डिकेट खडा गरी वर्षौदेखि अनधिकृत रुपमा पैसाको चलखेल गरेको बताएका छन् । उनले यही वर्षमात्र २२ हजार श्रमिक जापान गएकोसमेत बैठकमा भनेका छन् ।
प्रत्येक प्रशिक्षार्थी कामदारबाट म्यानपावर मार्फत कम्तीमा ५० हजार लिएको गुनासो आएकोसमेत उनले बताएका छन् । उनले यसमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरुसमेत मुछिएको बताए ।
बैठकमा स्नेहीले भने, 'जान भन्ने संस्थाले त्यो विवाद पनि भएको हुनाले जान भन्ने संस्थाले सिन्डिकेट खडा गरेर त्यसमा रवि लामिछानेका मान्छेहरु पनि मिसिएर यति धेरै सिन्डिकेट खडा गरेर कर्मचारीसँग मिलेर विगत १५ वर्षदेखि अर्बौँ रुपैयाँ लुटिरहेका छन् । पछिल्लोपटक आएको कुरा यही हो स्वर्णिम वाग्लेदेखि त्यो पार्टीका मान्छेहरुबीचमा' ।
केन्द्रीय सदस्य स्नेहीले यसबारेमा गम्भीर हुन पार्टी नेतृत्वलाई आग्रह गर्दै भने, 'यसका बारेमा परराष्ट्र मन्त्रीले, श्रम मन्त्रीले, गृहमन्त्रीले गम्भीर हुने कि नहुने ? अर्बौँ लुटतन्त्र मच्चिएको छ । त्यसका बारेमा पनि संसदले, सरकारले र पार्टीले एउटा धारणा बनाउनु पर्छ ।'
कांग्रेसले नै गलत भएका ठाउँलाई सही बनाउन लाग्नुपर्नेमा जोड दिँदै उनले भने, ' नभए सबै चिज बिगारेको कांग्रेसले सपारेका कम्युनिष्ट र नयाँ पार्टीले भन्ने भाष्य निर्माण हुँदैछ । कांग्रेस सकियो भन्ने भाष्य निर्माण हुँदैछ । यसकाविरुद्ध कांग्रेस एक भएर पार्टी एकता गर्नु आवश्यकता हो ।'