'खतरा आएको छ' भन्ने वा 'सबै बर्बाद भयो' भन्ने दुवै अतिवादी धारणामा विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाव
हाम्रा कुरा
प्रकाशित २०८२ असार २१ शनिबार
1.1k
Shares
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भनेजति काम हुन नसकेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले देशको यथार्थ बुझेर जिम्मेवारी लिन आग्रह गरे।
थापाले देशमा 'खतरा आएको छ' भन्ने वा 'सबै बर्बाद भयो' भन्ने दुवै अतिवादी धारणामा विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाए। उनले कुनै पनि कुरालाई गहिरो अध्ययन गरेर मात्र समर्थन वा विरोध गर्नुपर्ने बताए।
"कसैले यो देशमा खतरा गरेको छ, भएको छ भनेर नपत्याउनुस्," उनले भने, "तर कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस्। यो देशमा केही राम्रो भएको छ, केही राम्रो गर्न सकिएको छैन। राम्रो गरेकोमा धन्यवाद भन्नुस्। गर्नुपर्ने जति राम्रो किन गरिनस् भनेर गाली पनि गर्नुस्।"
महामन्त्री थापाले विद्यार्थीहरूलाई 'अब हाम्रो जिम्मा हो' भन्दै जिम्मेवारी बोध गर्न र त्यसका लागि नथाक्न, नभाग्न, नगल्न र अडिएर बस्न प्रोत्साहित गरे। उनले नयाँ कुरा सिक्न, प्रश्न गर्न र आलोचनात्मक हुनसमेत आग्रह गरे।
थापाले आफूलाई अब आउने पुस्ताले आफूले भन्दा राम्रो काम गर्नेमा विश्वास रहेको पनि बताए।