कांग्रेस केन्द्रीय समिति बैठक ११ बजेदेखि, सदस्यहरुले धारणा राख्ने क्रम जारी
हाम्रा कुरा
प्रकाशित २०८२ असार १७ मंगलबार
3.3k
Shares
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबारदेखि पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर लतिलपुरमा जारी रहेको छ । आज दोस्रो दिन बिहान ११ बजेदेखि बैठक शुरु हुनेछ ।
सोमबारदेखि नै नेताहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ । आज पनि यसले निरन्तरता पाउनेछ । सभापछि शेरबहादुर देउवाको अध्यक्षतामा बसिरहेको बैठकको पहिलो दिन उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन सम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
महामन्त्री गगनकुमार थापाले बैठकको एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।
उनले केही भ्रातृ संस्थाबारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय सम्बन्धमा र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
सोमबारको बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु डा शेखर कोइराला, बलबहादुर केसी, कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुषाल, डा गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिंह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले आ–आफ्नो धारणा राखेका थिए ।