arrow

प्रतिनिधि सधामा अर्थमन्त्री

अर्थमन्त्री पौडेलको दाबी: बजेट यथार्थपरक, छ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने [भिडियो]

अपवादबाहेक तीन करोडको सीमा पालनामा सरकार प्रतिबद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
bishnu-poudel-10.jpg

काठमाडौँ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक रहेको र यसले लिएको छ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुने दाबी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले शिथिल रहेको अर्थतन्त्रलाई वर्तमान सरकारले चलायमान बनाएको बताए।

अर्थमन्त्री पौडेलले बजेटमा स्रोत व्यवस्थापन र खर्चको बाँडफाँड यथार्थपरक ढंगले गरिएको जानकारी दिए। उनले संविधानको अधिकारको सूची, कार्य विस्तृतिकरण प्रतिवेदन तथा आयोजना वर्गीकरण मापदण्डअनुरूप अपवादबाहेक तीन करोड रुपैयाँको सीमालाई पालना गर्ने सरकारको दृढता रहेको स्पष्ट पारे। उनले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पुँजीगत खर्च १७ प्रतिशत बढी गरिएको स्मरण गराउँदै, साधारण खर्च घट्ने र पुँजीगत खर्च बढ्ने सिलसिलामा 'ब्रेक लगाउनुपर्ने' अवस्था रहेको औँल्याए।

बजेट छलफलमा सर्वाधिक चासोको विषय बनेको तीन करोडको सीमाबारे अर्थमन्त्री पौडेलले थप स्पष्ट पारे। उनले संघीय सरकारले आगामी आर्थिक वर्षका लागि तीन करोडभन्दा साना आयोजनामा विनियोजन नगर्ने नीति लिएको भए पनि केही अपवादहरू रहेको बताए।

उनका अनुसार, तीन करोडभन्दा कम विनियोजनबाट सम्पन्न हुने क्रमागत आयोजना, भुक्तानी दायित्व बाँकी रहेका र कम विनियोजनले पुग्ने आयोजना, संघीय सरकारको मात्र एकल अधिकार क्षेत्रमा रहेका र कम विनियोजनले काम गर्ने आयोजना, तथा विपद् व्यवस्थापन र पुनर्निर्माणसँग सम्बन्धित कम लागतका आयोजनाहरूमा तीन करोडभन्दा कम विनियोजन हुन सक्छ।

पौडेलले यी अपवादबाहेक सरकारले संविधानको अधिकारको सूची, कार्यविस्तृतिकरण प्रतिवेदन र आयोजना वर्गीकरण मापदण्डको आधारमा तीन करोडको सीमालाई पालना गर्ने दृढता व्यक्त गरेको दोहोर्याए। उनले बजेट तर्जुमाका क्रममा सबै मन्त्रालयहरूलाई अर्थ मन्त्रालयले सोहीअनुसार दिशानिर्देश गरेको पनि बताए।

कतिपय पालिका र प्रदेशमा सशर्त विनियोजनका योजनाहरू तथा अध्ययनका आयोजनाहरूलाई पनि न्यून विनियोजन भएको भन्ने चर्चा भएको आफूले महसुस गरेको बताउँदै उनले, यदि तीन करोडभन्दा साना केही आयोजनाहरू विनियोजन भएका छन् भने त्यस्ता आयोजनाहरूलाई सम्बन्धित मन्त्रालयले अख्तियारी प्रदान गरी प्रदेश र स्थानीय तहबाट कार्यान्वयन गराउने स्पष्ट पारे। संघीय सरकार तीन करोडको सीमामा दृढतापूर्वक उभिने उनको भनाइ थियो।

अर्थमन्त्री पौडेलले शिथिल रहेको अर्थतन्त्रलाई चलायमान गराएर समस्त परिसूचकहरूमा सकारात्मक सुधार गरिएको दाबी गर्दै बजेटले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल हुनेमा आफू विश्वस्त रहेको र यो असम्भव नरहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ